site stats
बाह्रखरी :: Baahrakhari
देश
वर्षाले किसानलाई राहत
फाइल तस्बिर ।

धनुषा । लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत भएको छ । पानी नपर्दा रोपेका खेतमा धाँजा फाटेका र बीउ सुक्न लागेको अवस्थामा शुक्रबार (साउन १६) बेलुकादेखि वर्षा भएपछि किसानलाई राहत भएको हो ।

क्षीरेश्वरनाथ नगरपालिका–४, हरैयाका किसान दिपो यादवले रोपाइँका बेला वर्षा नहुँदा समस्या भएकामा हाल केही राहत भएको बताए ।

धनुषामा ४८ हजार ७६० हेक्टर जमिन धानखेतीयोग्य छ । पछिल्लो समय ४२ हजार हेक्टरमा मात्र खेती गर्ने गरिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादवका अनुसार, ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती गरिँदै आएको छ । शुक्रबारदेखि पानी परेकाले अब रोपाइँमा सुधार हुने उनले बताए ।

जिल्ला समन्वय समिति धुनषाका पूर्वसभापति रहेका ६५ वर्षीय रामदेव यादवले पछिल्लो समय धानखेती महँगो भएको र त्यसमा पनि मौसम चुनौतीपूर्ण रहेको बताए । लागतअनुसार उत्पादन र बजार मूल्य समेत नपाइने उनले गुनासो गरे ।

जिल्लामा करिब सात लाख जनसंख्या रहेकामा ७० प्रतिशत किसान धानखेतीमा संलग्न छन् । कृषि जनगणना, २०७८ अनुसार, जिल्लामा बिस्तारै धानखेती घट्दै गएको छ । 

जिल्लाका १८ पालिकामध्ये गणेशमान चारनाथ, मिथिला र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकाबाहेक १४ स्थानीय तहका किसानले व्यावसायिक रूपमा धानखेती गर्दै आएका छन् । रासस

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्