काठमाडौं । प्रहरीले पक्राउ गरेका गुण्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रेमिलन’ समूहबाट पेपर स्प्रे र दुईवटा खुकुरी बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चक्रेमिलनसहित ४७ जनालाई बिहीबार साँझ महराजगञ्जस्थित होटेल साम्बालाबाट पक्राउ गरेको थियो ।
चक्रेमिलनको जन्मदिनको पार्टी गर्न होटेल साम्बाला पुगेका उनीहरू लावालस्करसहित होटेल पुगेका थिए । होटेलको भिल्ला (छत)मा समेत ‘उदण्ड क्रियाकलाप’ गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सोही गुनासोका आधारमा प्रहरीले चक्रे समूहका ४७ जनालाई पक्राउ गरेको हो । प्रहरीले चक्रे समूहकाले प्रयोग गरेका गाडीमा ‘सर्च’ गरेको थियो । प्रहरीले गाडीबाट दुई थान खुकुरी र एक थान पेपर स्प्रे समेत बरामद गरेको छ । पपेर स्प्रे आत्मरक्षाका लागि प्रयोग हुनेगर्छ ।
अनुहारमा पेपर स्प्रे प्रहार गर्दा आँखा देख्न सकिँदैन । पक्राउ परेकाहरूलाई के मुद्दा चलाउने भन्नेबारे प्रहरी आन्तरिक छलफलमा छ ।