
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली फुटबल विश्वमञ्चसँग जोडिएको बताएका छन् । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कार्यक्रम आयोजना भएसँगै नेपाली फुटबल विश्वमञ्चसँग जोडिएको बताएका हुन् ।
“यो विश्वस्तरीय परियोजना हो । नेपालमा यो परियोजना आयोजना हुनुले नेपाली फुटबललाई विश्व फुटबल मञ्चसँग जोड्छ । यसरी विश्वस्तरीय परियोजना नेपालमा आयोजना गरेकोमा मन्त्रालय, खेलकुद परिषद् र फुटबल संघलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,” परियोजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।
एन्फाले यो परियोजना सञ्चालन गर्न फिफाबाट ५० हजार डलर पाइसकेको छ । परियोजनाअन्तर्गत नेपालभरका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल वितरण गरिनेछ । परियोजना १२ देखि १६ वर्षका विद्यार्थीलक्षित हुने एन्फाले जनाएको छ ।