site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनको जेलमा रुसी मिसाइल प्रहार, १७ कैदीसहित २२ जनाको मृत्यु

काठमाडौं । रूसले युक्रेनको एक जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइलहरूद्वारा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । 

रूसले यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही घण्टापछि गरेको हो । ट्रम्पले रूसलाई युक्रेनसँग सम्झौता नगरेमा कडा प्रतिबन्ध र करको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

रूसले युक्रेनको दक्षिण–पूर्वी जापोरिजिया क्षेत्रमा रहेको जेललाई निसाना बनाएर हवाई आक्रमण गरेको हो । यो आक्रमण सोमबार राति भएको थियो । 

आक्रमणका क्रममा जेललाई निसाना बनाएर चारवटा बम खसालिए । यसमा कम्तीमा १७ कैदीको मृत्यु भएको छ र ८० भन्दा बढी घाइते भएका छन् ।

केन्द्रीय युक्रेनको डनीप्रो क्षेत्रमा रूसी मिसाइलहरूले तीनतले भवनलाई निसाना बनाए र नजिकैका चिकित्सा संस्थाहरूलाई क्षति पुर्‍याएको छ । रूसी आक्रमणमा प्रसूति अस्पताल र सहरको एक अस्पताल वार्डसहित नजिकैका धेरै चिकित्सा सुविधाहरू क्षतिग्रस्त भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार, यो आक्रमणमा कम्तीमा चारजनाको मृत्यु भएको छ र आठजना घाइते भएका छन् । जसमा एक गर्भवती महिला पनि छन्, जसको अवस्था गम्भीर छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले देशभरका ७३ सहर र गाउँहरूलाई रूसले निसाना बनाएको बताए । यी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको बताउँदै जेलेन्स्कीले टेलिग्राममा भने, “यी जानाजानी गरिएका आक्रमणहरू हुन्, आकस्मिक होइनन् ।”

युक्रेनी वायुसेनाले रूसले रातको समयमा दुईवटा इस्कान्डर–एम बैलिस्टिक मिसाइल र ३७ शाहेद–प्रकारका आक्रमणकारी ड्रोन तथा डिकोय ड्रोनहरू प्रक्षेपण गरेको बतायो । तीमध्ये ३२ शाहेद ड्रोनलाई युक्रेनी रक्षा प्रणालीले नष्ट वा निष्क्रिय गरेको छ । 

मध्यरातको आसपासमा रूसले बिलेन्किव्स्का सुधार संरचनामाथि आक्रमण गर्‍यो, जसले जेलको भोजन कक्ष पूर्ण रूपमा नष्ट भएको छ र अन्य प्रशासनिक तथा क्वारेन्टाइन भवनहरूलाई क्षति पुगेको छ । 

यद्यपि, जेलको परिधिको बारलाई कुनै क्षति नपुगेकाले कुनै कैदी भाग्न पाएनन् ।

आक्रमणमा कम्तीमा ४२ कैदीहरूलाई गम्भीर चोटसहित अस्पताल भर्ना गरिएको छ । अन्य ४० जना घाइते भएका छन् । 

युक्रेनी अधिकारीहरूले यो आक्रमणको निन्दा गरे र जेलजस्ता नागरिक संरचनामाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध भएको बताए ।

युक्रेनले रूसी आक्रमणको जवाफ दिन आफ्नो लामो दुरीको ड्रोन प्रविधिको प्रयोग गर्‍यो, जसद्वारा रूसको तेल डिपो र हतियार निर्माण कारखानाहरूलाई निसाना बनायो । रूसको रक्षा मन्त्रालयले मंगलबार रातभरमा ७४ युक्रेनी ड्रोन खसालिएको बतायो । जसमध्ये ४३ ब्रायन्स्क क्षेत्रमा थिए । रूसको रोस्तोव क्षेत्रका प्रमुख यूरी स्ल्यूसरले साल्स्क सहरमा ड्रोन आक्रमणमा एकजनाको मृत्यु भएको र साल्स्क रेलवे स्टेसनमा आगलागी भएको बताइएको छ । 

एक मालगाडी जलेको छ भने यात्री रेलका दुई डिब्बाका झ्यालहरू फुटेका छन् । यात्रुहरूलाई सुरक्षित निकालिएको र रेलवे यातायात स्थगित गरिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्