
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष जापानमा हुने २०औँ एसियाडअघि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिनुपर्ने बताएका छन् ।
सोमबार (साउन १२) सामाजिक सञ्जालमार्फत उनले एसियाडअघि राष्ट्रिय खेलकुद आयोजना गर्नका निम्ति खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारीसँग छलफल गरिएको जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “दशौँ राष्ट्रिय खेलकुदको भव्य तयारी गर्ने विषयमा हिजो खेलकुदमन्त्रीसहित मन्त्रालयका पदाधिकारी र खेलकुद परिषद्का प्रतिनिधिहरूसँग छलफल भयो । जापानमा हुने एसियन खेलकुद प्रतियोगिताअगावै हामीले राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नुपर्नेछ ।”
२०औँ एसियाड आउँदो वर्षको सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोया सहरमा हुने तालिका छ ।
१०औँ राष्ट्रिय खेलकुद गत वर्षको मंसिरमै हुनुपर्ने थियो । तर, मन्त्रालय र राखेपबीचको खिचातानीका कारण पटक–पटक यसको मिति सारिएको छ ।
गत वर्षको मंसिर २ देखि ८ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतियोगिता गरिने तालिका थियो । पछि ०८१ कै चैत २३ देखि ३० गतेसम्म गर्ने गरी प्रतियोगिताको मिति सारियो ।
निर्धारित दोस्रोपटकको मितिमा पनि प्रतियोगिता भएन । ०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने गरी अर्को मिति तोकियो । त्यो मिति पनि गुज्रियो । त्यसपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले यो वर्षको मंसिरमा प्रतियोगिता हुने जनाएका छन् ।