
विराटनगर । यस वर्ष विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा थप विशेष हुने भएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १ गते आयोजना हुने रथयात्रामा यसपटक नयाँ रूपमा निर्माण गरिएको भव्य रथ तान्न पाइने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकहरूले तयारीबारे जानकारी दिएका छन् । रथयात्रा विराटनगरमा धार्मिक तथा सांस्कृतिक उत्सवको रूपमा मानिन्छ ।
नयाँ रथको उचाइ २९ फिट तीन इन्च, लम्बाइ १४ फिट, चौडाइ १४ फिट र जुवाको भाग आठ फिट रहेको छ । रथ पेगोडा शैलीमा निर्माण गरिएको हो । यसको अग्रभागबाट १६५ फिट लामो डोरी दायाँ र बायाँ फैलिएको छ, जसलाई दायाँपट्टीका लट्ठामा पुरुष र बायाँपट्टीका लट्ठामा महिला भक्तजनहरूले समातेर तान्नेछन् ।
रथमा मध्यभागमा युगल जोडी भगवान श्रीराधाकृष्णको मूर्ति राखिनेछ । साथमा चारजना पण्डित, एकजना प्राविधिक र दुईजना प्रतिनिधिसहित सातजना व्यक्तिहरू रथमा रहनेछन् ।
यसपटकको रथ प्राकृतिक काठको रङमा रहनेछ । रथयात्रामा विभिन्न जातजाति, धर्म, संस्कृति झल्काउने झाँकी तथा भजन मण्डलीहरू समेत सहभागी हुनेछन् ।
रथयात्राको परम्परा वि.सं. १४८८ देखि सुरु भएको हो । प्रारम्भमा ‘खटयात्रा’को रूपमा रहेको यात्रा २०२३ सालमा स्व. भूपालमान सिंह कार्की र स्व. सत्यनारायण धनावतले भव्य रथ निर्माण गरेपछि अझै भव्य बन्दै आएको हो ।
रथयात्रा दिउँसो ३ बजे तीनपैनी मन्दिरबाट सुरु हुनेछ । मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्रचोक, धरान रोड, वरगाछी, दुर्गा चोक हुँदै पुनः मन्दिर परिसरमा फर्किने क्रममा रथ चार किलोमिटर दुरी पार गर्दै ४४ स्थानमा विश्राम गर्नेछ । अनुमानित ६ घण्टाको यात्रा अवधिमा करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
रथयात्रालाई व्यवस्थित बनाउन अध्यक्ष कैलाश रेगमीको अध्यक्षतामा १००१ सदस्यीय मूल समारोह समिति र त्यसअन्तर्गत १६ वटा उपसमितिहरू गठन गरिएको छ ।