site stats
बाह्रखरी :: Baahrakhari
देश
सामान्य वर्षामै उपत्यकामा डुबान, नदीखोलामा थुप्रिन थाल्यो गेग्य्रान

काठमाडौं । गत वर्ष असोजमा अविरल वर्षासँगै काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)का नदी तथा खोलामा बाढी आयो । अधिकांश बस्ती डुबानमा परे । ललितपुरको नक्खुखोलामा उद्धारको पखाईमा रहेकाले ज्यान गुमाए । जनधनको ठूलो क्षति भयो ।

गत वर्ष मनसुनजन्य विपद्‌मा परी काठमाडौंमा १९, ललितपुरमा ४६ र भक्तपुरमा चारजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।

यो वर्ष पनि वर्षाका बेला उपत्यकाका नदीखोलाहरू उर्लन थालेका छन् । गत वर्ष नै बाढीले बगाएर ल्याएको गेग्य्रान पनि नदीखोलामा थुप्रिएको छ ।

गेग्य्रान थुप्रँदा नदीखोलामा पिँधको सतह बढ्छ । र, सामान्य वर्षामै पानी बाहिरिएर सडक जलमग्न हुन थालिसकेका छन् । मनसुन अवधि बाँकी नै रहेकाले ठूलो बाढीको जोखिमको सम्भावना पनि छँदै छ ।

काठमाडौं उपत्यकामा विष्णुमती, रुद्रमती, मनमती, बल्खुखोला, नक्खुखोला, गोदावरी, कोडेकुखोला, हनुमन्ते, मनहरा, टुकुचा, कर्मनासा वाग्मतीका सहायक नदी हुन् । यहाँ अरू खहरेखोला र राजुकुलो पनि छन् । वर्षायाममा यी नदीखोलामा बहाव बढ्दा जनधनको क्षति हुने गरेको छ ।

वर्षाैंदेखि थुप्रिएको गेग्य्रान निकालेर नदीखोलाको पिँध सतह फराकिलो र गहिरो बनाउने मुख्य जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र स्थानीय सरकारको हो । तर, समयमै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरिँदैन ।

समितिका आयोजना उपनिर्देशक एवं सूचना अधिकारी उद्धव नेपालले सबै ठाउँको गेग्य्रान निकाल्न नसकिएको स्वीकार गरे । “थुप्रिएको गेग्य्रान निकाल्नका लागि एक करोड ८० लाख रुपैयाँ लागतमा ठेक्का नै खोलेर करिब एक लाख घनमिटर क्षेत्रको गेग्य्रान निकाल्ने काम भइरहेको छ,” उनले बाह्रखरीसित भने ।

समितिसँग भएका मेसिन प्रयोग गरेर पनि गेग्य्रान निकालिँदै छ । “गेग्य्रान थुप्रिँदा पानीको पिँध सतह बढेर आउँछ । त्यसपछि बस्तीभित्र पानी पस्ने हो,” उनले भने, “तर, सबैतिर काम गर्न सकिएको छैन ।”

उपत्यकामा डुबान हुनुमा धेरै कारण रहेको उनले बताए । नदीको बहाव क्षेत्र निर्धारण नहुनु र त्यस आसपास घरहरू बनाइँदा बाढीको उच्च जोखिम रहेको उनले उल्लेख गरे ।

“अव्यवस्थित सहरीकरणका कारण उपत्यका डुबानमा पर्छ । नदीखोलालाई आफ्नै धारमा बग्न नदिएर आसपासमा संरचनाहरू निर्माण भए,” उनले भने ।

प्राधिकरणका अनुसार, उपत्यकामा बालुवाटार, बल्खु, कुलेश्वर, नरेफाँट, शंखमूल, कपन, माइतीघर, कालीमाटी, जमल, सामाखुसी, नक्खुलगायत क्षेत्रका बस्ती डुबानको उच्च जोखिममा छन् ।

प्राधिकरणका उपसचिव एवं प्रवक्ता रमेश सुनारले विभिन्न कारणले यहाँ सामान्य वर्षामै डुबान हुने गरेको बताए । “खोला आसपासमा संरचना निर्माण गर्दा, नदीनालाहरूमा जम्मा भएका गेग्य्रानहरू समयमा नखोल्दा नदीखोला आसपासका बस्तीहरू डुबानमा पर्छन्,” उनले भने ।

नदीखोलाको अतिक्रमण र उचित तवरबाट ढल व्यवस्थापन नगरिँदा सामान्य वर्षामै पनि काठमाडौंका बस्ती डुबानमा पर्ने गरेको प्राधिकरणले जनाएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत वर्ष नक्खुखोलामा आएको बाढीले ठूलो पाठ सिकाएको बताए । “हामीलाई गत वर्ष नक्खुखोलामा आएको बाढीले ठूलो पाठ सिकाएको छ । यसबाट पाठ सिकेर आगामी नीति तथा कार्यक्रम तयार पारेका छौँ । उद्धारमा ढिलाइ नगर्नका लागि विभिन्न स्रोतसाधन जुटाएका छौँ,” उनले भने ।

काठमाडौं महानगरपालिकाअन्तर्गत विपद् व्यवस्थापन महाशाखाका एसपी विष्णुप्रसाद जोशीले उपत्यका डुबानमा पर्नुका विभिन्न कारण औँल्याए । “पहिलो कारण त यहाँको भौगोलिक अवस्था नै हो । त्यस्तै, जनघनत्व, कृषियोग्य जमिन सकिएर जमिनको ‘रिचार्ज सिस्टम’ बन्द हुँदा ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ,” उनले भने, “सहर कंक्रिटमय हुँदा र खोलाको अतिक्रमण हुँदा डुबानको समस्या झन् जटिल बन्दै गयो ।”

प्राधिकरणका प्रवक्ता सुनारले डुबानको उच्च जोखिम रहेका स्थानको पहिचान गरी पानी जम्मा हुन नदिने उपाय अवलम्बन गरिने बताए । “यसका लागि विभिन्न निकायसँग समन्वय गरी पूर्वतयारी गरेका छौँ,” उनले भने ।

विपद्‌मा उद्धार तथा राहतका निम्ति कुल चार अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्ट्याइएको उनले जानकारी दिए । “काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्नुपरेमा निःशुल्क रूपमा हेलिकोप्टर परिचालन गर्ने/गराउने व्यवस्था मिलाइएको छ,” उनले भने, “विगतमा ठूलो जनधनको क्षति भएकाले यसपालि सरकार सचेत छ ।” 

प्राधिकरणका अनुसार, यसपालि मनसुनजन्य विपद्‌बाट करिब २० लाख मानिस प्रभावित हुने अनुमान छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्