site stats
बाह्रखरी :: Baahrakhari
देश
कमला नहरमा डुबेका बालकको शव फेला
तस्बिर : एआई जेनेरेटेड ।

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–११, बगहास्थित कमला नहरमा डुबेर हराएका करिब ६ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ । बिहीबार (साउन ८) दिउँसो हजुरआमासँग भैँसी चराउन गएका दीपक महराका छोरा शिवा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए ।

कर्जन्हा–११, बगहा पासवान टोल निवासी बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा शुक्रबार (साउन ९) अपराह्न ४ बजेतिर मिर्चैया नगरपालिका–३, वीरपुर बजारदेखि दक्षिणतर्फको कमला नहरमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिरहाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार, बिहीबार बिहान करिब १० बजे बालक नहरमा डुबेका थिए । सुरुमा स्थानीयले आफैँ उनको खोजी गरेका थिए । दिउँसो करिब २ः३० बजेतिर मात्र प्रहरीलाई घटना जानकारी गराइएको थियो ।

त्यसपछि प्रहरी घटनास्थलमा पुगेर बालकको खोजी गरेको थियो । शव मिर्चैया नहरतर्फ भेटिएको हो ।

शव भेटिएलगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा परीक्षणका निम्ति पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्