
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल–भारतबीच सुपुर्दगी सन्धि हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन् । शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालको राष्ट्रियतामाथि झन्झन् खतरा बढिरहेको उनले उल्लेख गरे । उनले नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न नसके राष्ट्रियतामाथि अर्को हमला हुने बताए । यसबारे सबै देशभक्त सचेत हुन जरुरी रहेकामा उनले जोड दिए ।
कोसी नदीमा उच्चबाँध बाँधिने चर्चा भइरहेको भन्दै उनले यसबारे पनि सरकारले नागरिकलाई जानकारी गराउनुपर्ने बताए । यो नेपालको राष्ट्रिय हितमा गरिँदै छ कि छैन भन्ने स्पष्ट पार्न जरुरी रहेको उनले औँल्याए ।
नेपालको राष्ट्रिय हितलाई ‘ग्यारेन्टी’ गर्ने विषयलाई ध्यानमा राखेर मात्र ठूला उच्चबाँध बाँधिनुपर्ने उनले बताए ।
कार्यक्रममा झलनाथ खनालको भनाइ पढ्नोस्–
अहिले पनि नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झन्झन् झन्झन् खतरा बढेर गइरहेको छ । अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धि नेपाल र भारतका बीचमा हुँदै छ । सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ । यो कुरामा नेपालका सबै देशभक्तहरू सचेत हुन जरुरी छ । कोसी उच्चबाँधको कुरा आइरहेको छ । यो कुरा कसरी आउँदै छ भन्ने कुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ । नेपालका सबै राजनीतिक दलहरूले पनि थाहा पाउनुपर्छ । नेपालको राष्ट्रिय हितमा गरिँदै छ कि छैन ? हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता गर्यौँ, पछि टनकपुर सम्झौता गर्यौँ । ती कुनै पनि नेपालको राष्ट्रिय हितमा भएनन् । यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्ने कुरालाई ध्यानमा राखेर मात्रै कुनै पनि ठूला उच्चबाँधहरू बाँधिनुपर्छ । न्युज एजेन्सी नेपाल