site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस–एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)को वैचारिक राजनीति ठूलो संकटमा रहेको बताएका छन् । शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले देशका ठूला राजनीतिक दलहरूमा ‘आइडोलोजिकल एन्ड पोल्टिकल क्राइसिस’ रहेको जिकिर गरे । कांग्रेसमा बीपी र गिरिजाप्रसाद कोइरालाजस्ता नेताले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको उनले बताए ।

एमालेमा पनि वैचारिक, राजनीतिक र नेतृत्वको संकट हाल देखापरेको उनले टिप्पणी गरे । एमाले मदन भण्डारी र ‘जबज’का आधारमा टिकेको उनले उल्लेख गरे । पछिल्लो समय जबजको प्रस्तावक र प्रवर्द्धक को हो भन्नेमै विवाद सुरु भएको उनले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारीका रूपमा आफूलाई प्रस्तुत गरेको उनले बताए ।

अध्यक्ष प्रचण्डले हाल वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्र भएको जिकिर गरे ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
अहिले देशमा र राजनीतिक ठूला भन्ने दलहरूमा निकै ठूलो आइडोलोजिकल एन्ड पोल्टिकल क्राइसिस देखिएको छ । वैचारिक राजनीति निकै ठूलो संकटमा कांग्रेस पनि छ र एमाले पनि छ । कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लोपटक गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिन्छ । त्यही कुरा तपाईं हामीले हेर्‍यो भने एमालेभित्र झन ठूलो संकट छ । वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको छ । अहिलेसम्म त्यो पार्टीले मदन भण्डारी र जबजको आधारमा टिकाएको र अघि लगेको छ । आजको दिन जबजको उत्तराधिकारी को हो भन्ने क्राइसिस भयो । जबजको प्रवर्तक नै को हो, प्रस्तावक को हो भन्नेमा विवाद सुरु भएको छ । यो ठूलो संकट हो । मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्रीले मदन भण्डारीका चारवटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट सुरु भएको प्रक्रिया अहिले पक्कै पनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ । यो संकट गहिरिने देखिएको छ । यो ठूलो आइडोलोजिकल, पोल्टिकल क्राइसिस हो । कांग्रेसमा पनि र एमालेमा पनि । यति बेला वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्