काठमाडौं । फिलिपिन्सको सर्वोच्च अदालतले उपराष्ट्रपति सारा दुतेर्तेविरुद्ध ल्याइएको महाभियोगलाई असंवैधानिक ठहर गरेको छ ।
अदालतले शुक्रबारको फैसलामा उपराष्ट्रपतिविरुद्ध दायर गरिएको महाभियोग मुद्दामा प्राविधिक कारणले देशको संविधानको उल्लंघन भएको बताइएको छ ।
सर्वोच्च अदालतको फैसलापछि उपराष्ट्रपति दुतेर्तेलाई राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको हत्या गर्न धम्की दिएकोलगायत धेरै मुद्दाहरूबाट राहत मिल्ने समाचारमा उल्लेख छ ।
फेब्रुअरी ५ मा राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको हत्याको षड्यन्त्र रचेको, भ्रष्टाचारमा संलग्न भएको र विवादित दक्षिण चीन सागरमा फिलिपिन्सको सेनाविरुद्ध चीनको आक्रामक कारबाहीको निन्दा गर्न असफल भएको आरोपमा प्रतिनिधिसभाका सांसदहरूले महाभियोग लगाएका थिए ।
सांसदहरूले यो मुद्दालाई सुनुवाइका लागि सिनेटमा पठाएका थिए । अदालतकी प्रवक्ता केमिली टिंगले प्रतिनिधिसभाले महाभियोग मुद्दामा एउटा नियमको उल्लंघन गरेको बताइन् ।
नियमानुसार तल्लो सदनले एक वर्षमा एउटा महाभियोग मुद्दामा कारबाही गर्नसक्छ । प्रतिनिधिसभाको फैसलाविरुद्ध दुतेर्तेले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएकी थिइन् ।
उपराष्ट्रपति सारा दुतेर्ते फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेकी छोरी हुन् । बीबीसी