काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।
मंसिर १२ गते रिलिज हुने चलचित्रको पहिलो झलकमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । बुवाको मृत्यु भएको सपना देखेर डराइरहेकी छोरी, आफूलाई तर्साउनेलाई नष्ट गर्न हतियार लिएर हिँडिरहेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबीचको डर पहिलो झलकमा देख्न सकिन्छ ।
पहिलो झलक भन्दै निर्माणपक्षले निलो पृष्ठभूमीमा सिनेमाका मुख्य तीन कलाकारलाई प्रस्तुत गरेको छ । जसमा बेनिशासँगै अपर्ण थापा र सृृष्टि श्रेष्ठ छन् । एंग्री लुक्समा रहेकी सृष्टिको हातमा आलो रगत लतपतिएको बन्चरो छ ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा, अर्पण र सृष्टिसँगै महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको ‘द ब्ल्यू लाइट’को सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् ।