site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
परलोकको यात्रा

सुरेन्द्र शाही 


म हेरिरहेको छु
आँखाको तलाउमा
तिमीलाई पौडी खेलाएर
म सम्झिरहेको छु अतीत
जल्दै छौ साथी आर्यघाटको रापिलो चितामा
तिम्रो सिंगो शरीर जलिरहेको छ
यहाँ मेरो मुटु भतभती पोलिरहेको छ
उड्दै छौ धुवाँ बनेर माथिमाथि
स्वर्गको यात्रामा
म भने खत्रक्कै छु गलेर तिम्रै यादमा
ए साथी,
जान्छु नभनेरै गयौ सुटुक्कै
तिमी त गयौ खुसी भएर
यहाँ सबैलाई रुवाएर
आमाबुवा मूच्र्छा पर्नुभएको छ
भएको एक सन्तान पनि दैवको प्यारो हुँदा
अब
अधुरै रहने भए उहाँका सपना
लच्छिनकी बुहारी भित्र्याउने
नाति र नातिनीलाई आफ्नै आँगनमा खेलाउने
आफ्नो सन्तानको वंश राख्ने
अन्तिम सासमा छोराकै हातको सुनपानी पिउने
ए साथी,
स्वर्गको ढोकामा मलाई कुरेर बस है
म आउँदा पहिलो भेट तिमीसँगै होस् !
अब त
चिता डढ्यो, तिम्रो देह जल्यो
अस्तु बाँकी रह्यो खरानी बनेर
यही आर्यघाटमा
सेलाएर तिम्रो अस्तु छुट्टिन्छु है
अलबिदा साथी !

(बाजुरा) 
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्