site stats
बाह्रखरी :: Baahrakhari
खेल
पुजनको ‘ह्याट्रिक’मा जावलाखेलको सानदार जित

काठमाडौं । पुजनको ‘ह्याट्रिक’मा जावलाखेल युथ क्लबले नवप्रवेशी शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध सानदार जित निकालेको छ । 

जावलाखेलले लिगअन्तर्गत बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा प्लानिङविरुद्ध ६–३ को शानदार जित निकालेको हो । 

जावलाखेललाई जित दिलाउन टोलीका पुजन सुनारले एक्लैले चार गोल गरे । त्यसैगरी विशाल शाही र सुजन तामाङले समान एक गोल गरे । जवाफमा प्लानिङका सुमित खड्का, अनुराग बोम्जन र अर्जुन घर्ती मगरले समान एक गोल फर्काए । 

खेलको आठौँ मिनेटमा जावलाखेलका पुजनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४४औँ मिनेटमा पुजनले अग्रतालाई दोब्बर बनाए । ५९औँ मिनेटमा पुजनले ह्याट्रिक गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याए । ६२औँ मिनेटमा पुजनले चौथो गोल गरेपछि टोलीले ४–० को अग्रता कायम गर्‍यो । ७३औँ मिनेटमा विशालले अग्रतमा एक गोल थपे । 

यसको पाँच मिनेट पछि ७८औँ मिनेटमा प्लानिङका सुमितले गोल गर्दै टोलीलाई १–६ को अवस्थामा ल्याए ।

८४औँ मिनेटमा जावलाखेलका सुजनले गोल गर्दै टोलीलाई ६–१ को अवस्थामा राखे । ८५औँ मिनेटमा प्लानिङका अनुरागले टोलीको निम्ति एक गोल फर्काए । ९०औँ मिनेटमा प्लानिङका अर्जुनले गोल गरे । 

जितसँगै जावलाखेलले लिगमा १० अंक जोडेको छ । जावलाखेलले आठ खेल खेल्दा तीन जित, एक बराबरी र चार हारबाट १० अंक जोडेको हो । उसले अब नवौँ खेल मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ । खेल आगामी सोमबार (साउन १२ गते)
दिउँसो १ बजे हुने तालिका छ । 

पराजित प्लानिङले भने नवौँ खेलमा न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ । खेल आगामी आइतबार (साउन ११ गते) दिउँसो ४ बजे हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्