
काठमाडौं । बंगलादेशमा सोमबार (जुलाई २१)मा ठूलो दुर्घटना भयो । राजधानी ढाकाको उत्तरस्थित एक विद्यालय–क्याम्पस परिसरमा लडाकु विमान खसेको हो । बंगलादेशको सेनाले एक विज्ञप्ति जारी गरी लडाकु जेट विद्यालयको भवनमा ठोक्किएको जनाएको छ ।
यो दुर्घटनामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । १५० भन्दा बढी मानिस घाइते छन् । घाइते हुनेमा ६० भन्दा बढी विद्यार्थी छन् । केही शिक्षक पनि गम्भीर घाइते छन् ।
बंगलादेशी सञ्चारमाध्यमले माइलस्टोन विद्यालय–क्याम्पसको दुईतले भवनमा एउटा प्रशिक्षण विमान ठोक्किएर यो दुर्घटना भएको जनाएका छन् ।
दुर्घटनामा प्रशिक्षण विमानका पाइलटको पनि मृत्यु भएको छ । लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलट जीवित थिए । उनलाई बचाउने धेरै प्रयास गरिएको थियो । पछि उनको मृत्यु भयो ।
चीनमा निर्मित एफ–७ बीजीआई लडाकु विमान दुर्घटना भएको बंगलादेशको इन्टर सर्भिसेज पब्लिक रिलेसन विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बंगलादेशमा नयाँ पाइलटलाई प्रशिक्षण दिन र सानाठूला युद्ध भूमिकाका निम्ति त्यो विमान प्रयोग गरिएको थियो ।
सोमबार उक्त प्रशिक्षण जेट लेफ्टिनेन्ट तौकीर इस्लाम सागरले उडाएका थिए । उनी बंगलादेश वायुसेनाको ३५औँ स्क्वाड्रनको हिस्सा थिए ।
सागरले यसै वर्ष पीटी–६ विमानसँग फ्लाइट प्रशिक्षणमा १०० घण्टा पूरा गरेका थिए । त्यसपछि उनी १५औँ स्क्वाड्रनको हिस्सा बनेका थिए । त्यहाँ उनले ६० घण्टा प्रशिक्षण लिएका बंगलादेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
३५औँ स्क्वाड्रनमा रहँदा सोमबार उनले एक सहायक पाइलटसँग पहिलो उडान गरेका थिए । त्यसपछि उनी स्थानीय समयानुसार दिउँसो करिब १ः०६ बजे आफ्नो पहिलो एकल मिसनमा ढाकाको कुर्मीटोला क्षेत्रमा रहेको बंगलादेश वायुसेनाको बंगबन्धु बेसबाट उडेका थिए । तर, नियमित प्रशिक्षण मिसनका क्रममा बाटोमा नै उक्त लडाकु विमान ‘प्राविधिक समस्या’को सिकार भयो । यो समस्या कस्तो प्रकारको थियो भन्ने स्पष्ट हुन बाँकी रहेको जनाइएको छ । एपीबाट ।