
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे)को एक समाचार रिपोर्टलाई झुटो र भ्रामक भन्दै तीव्र आक्रमण गरेका छन् ।
उक्त रिपोर्टमा ट्रम्पलाई उनकै ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले फेडरल रिजर्भ चेयरम्यान जेरोम पावेललाई हटाउनु सेयर बजारको लागि हानिकारक हुने भनेर सम्झाएको बताइएको छ ।
ट्रम्पले यो समाचारलाई पूर्ण रूपमा खारेज गर्दै सामाजिक सञ्जाल माध्यम ट्रुथ सोसलमा कसैले उनलाई सम्झाउनु आवश्यक नपर्ने बताएका हुन् ।
“ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले मलाई फेडरल रिजर्भको प्रमुख जेरोम पावेललाई हटाउँदा बजार ओरालो लाग्छ भने सम्झाएको भन्दै डब्ल्यूएसजेले अर्को झुटो कहानी छापेको छ । कसैले मलाई सम्झाउनु पर्दैन, मलाई थाहा छ बजार र अमेरिकाको लागि के ठीक छ । यदि म नभएको भए, बजार आज रेकर्ड उचाइमा हुँदैनथ्यो, बरु धेरै पहिले नै क्रर्यास भइसक्थ्यो !”
सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जेरोम पावेलको ब्याजदरसम्बन्धी निर्णयहरूबाट सन्तुष्ट नभएको र उनलाई हटाउन चाहेको उल्लेख गरेको बताएको छ । यद्यपि, कानुनी विज्ञहरूको राष्ट्रपतिसँग फेड अध्यक्षलाई सिधै हटाउने अधिकार नभएको विश्वास गर्छन् ।
यो मुद्दालाई लिएर वाल स्ट्रिटमा पनि चिन्ता देखिएको र यो विवादमा फेडरल रिजर्भको प्रतिक्रिया मागिएको बताइएको छ ।
यसअघि ट्रम्पले जेफ्री एप्स्टिन नामक बालयौन दुराचार गरेको आरोपमा जेल परेको एक अमेरिकी धनाड्यासँग उनको सम्बन्धको बारेमा रिपोर्ट प्रकाशित गरेको भन्दै उनको छविलाई जानाजानी बिगार्न खोजेको र यसले उनलाई ठूलो आर्थिक तथा सामाजिक क्षति पुर्याएको दाबी गर्दै अर्बौं डलरको क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता गरेका छन् ।
उनको वकिलहरूले अदालतमा भने, “यो झुटो कहानीमार्फत डब्ल्यूएसजेले राष्ट्रपति ट्रम्पको छविलाई बिगार्ने, उनलाई बदनाम गर्ने र जनतासामु गलत रूपमा प्रस्तुत गर्ने षड्यन्त्र रचेको छ ।”