site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौतातर्फ बढ्न पुटिन तयार
भ्लादिमिर पुटिन ।

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको आह्वानानुसार शान्ति सम्झौतातर्फ अघि बढ्न तयार भएका बताइएको रोयटर्सले जनाएको छ ।

तर, त्यसनिम्ति रुसले मुख्य लक्ष्य प्राप्त गर्नुपर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार त्यहाँको सरकारी टेलिभिजनमा बताएका छन् ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर बयानबाजीमा आफूहरू अभ्यस्त भएको उल्लेख गरे । तर, ट्रम्पले रुसबारे आफ्ना टिप्पणीमा शान्ति सम्झौताको खोजी जारी राख्ने विषयलाई जोड दिएका उनको भनाइ थियो ।

“राष्ट्रपति पुटिनले बारम्बार युक्रेन युद्धलाई यथासम्भव चाँडो शान्तिपूर्ण निष्कर्षमा पुर्‍याउने आफ्नो इच्छा व्यक्त गरेका छन् । यो लामो प्रक्रिया हो । यसले लामो प्रयास माग्छ र यो सजिलो छैन,” पेस्कोभले भने ।

उनले अगाडि भने, “हाम्रो निम्ति मुख्य कुरा हाम्रा लक्ष्य प्राप्त गर्नु हो । हाम्रा लक्ष्य स्पष्ट छन् ।”

गत सोमबार ट्रम्पले रुसप्रति कडा अडान घोषणा गर्दै युक्रेनलाई प्याट्रियट मिसाइल रक्षा प्रणालीसहित नयाँ सैन्य सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले रुसलाई युद्धविराममा सहमत हुन ५० दिनको समयसीमा दिँदै नत्र थप प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी पनि दिएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्