
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नवीकरण भइसकेको बताएको उल्लेख गरे ।
पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताएको पाण्डेले सुनाए ।
"अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो । उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नवीकरण गरेँ भन्नुभएको छ । एक वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नवीकरण भएको भन्नुभएको थियो । अध्यक्षज्यूले पनि यसमा सहमति गर्नुभएको थियो," उनले भने ।
उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नवीकरण पहिला नै भएको विषय रहेको बताए ।