
काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर अख्तियारमा निवेदन दिएको हो । निवेदन दिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको बताए ।
०४६ साल पछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरूसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको उनले बताए । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरे । मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको बताए ।
"अहिले देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको छ । भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरू, संवैधानिक अंगहरू कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी जस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यान आकर्षण गराउनको लागि केन्द्रीय कार्यालयमा आएर उजुरी दर्ता गराएका छौँ । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्," उनले भने ।
अध्यक्ष लिङदेनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको बताए । न्युज एजेन्सी नेपाल