site stats
बाह्रखरी :: Baahrakhari
देश
‘भिजिट भिसा’ प्रकरणपछि दिल्ली हुँदै जाने नेपालीको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । ‘भिजिट भिसा’ प्रकरणपछि भारत हुँदै तेस्रो देश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ७ गते गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नित्रन्त्रणमा लिँदै भिजिट भिसा (पर्यटन भिसा) मा अनुसन्धान अघि बढाएपछि काठमाडौंबाट भारत हुँदै तेस्रो देश जाने नेपालीको संख्या बढेको हो । 

त्यसअघि सेटिङ्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा सिँधै युनाईटेड अरब इमिरेट्स, साउदी अरेबिया, कुवेतलगायतका देश जानेहरूमाथि अख्तियारले अनुसन्धान सुरु गरेपछि काठमाडौंबाट भारत जाने र त्यहाँबाट अन्यत्र जान थालेका हुन् ।

“भारत जानेहरूसँग खासै सोधीखोजी गरिँदैन । त्यसैले सेटिङ भिजिट भिसामा खाडी राष्ट्र र त्यहाँबाट युरोप जानेहरू सिँधै त्यता नगई पहिला भारत जाने र त्यहाँबाट अयन्त्र जाने गरेको पछिल्लो तथ्याङ्कले देखाउँछ । यसैकारण पछिल्ला दिन भारत जानेको संख्या स्वाट्टै बढेको छ,” अध्यागमन विभाग स्रोतले बाह्रखरीसँग भन्यो । 

अध्यागमन विभागको तथ्याङ्कअनुसार भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गरिएको महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) बाट भारत जानेको संख्या ७ हजार ९१३ थियो । उक्त महिना दैनिक औसतमा २५५ जनाभन्दा बढी नेपाली टिआईएबाट भारत गएका थिए ।

भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु भएपछिको महिना अर्थात् २०२५ जुनमा टिआई हुँदै १० हजार ६७१ जना नेपाली भारत गएको विभागको तथ्याङ्कले देखाउँछ । जुन महिनामा दैनिक औसत ३५५ जनाभन्दा बढी नेपाली भारत गएका थिए । मे महिनाको तुलनामा जुनमा दैनिक औसतमा १०० जनाभन्दा बढी नेपाली टिआईए हुँदै भारत गएका तथ्याङ्कले देखाउँछ । 

जुलाईमा आइपुग्दा यो संख्या अझ बढेको छ । २०२५ जुलाई १ देखि १६ सम्मको अवधिमा टिआईए हुँदै ६ हजार ४५९ जना नेपाली भारत गएका छन् । जुन महिनामा दैनिक औसतमा ४०३ जनाभन्दा बढी नेपाली टिआईबाट भारत गएको देखिन्छ ।

सेटिङको भिजिट भिसामा नेपाली विदेश जानेको गरेको तथ्य बाहिर आएको महिना मेमा जति नेपाली दैनिक भारत गएका थिए त्योभन्दा दैनिक १४८ जना बढी नेपाली जुलाई महिनामा टिआईबाट भारत गएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागको तथ्याङ्क अनुसार, सन् २०२५ जनवरी १ देखि जुलाई १६ सम्मको साढे ६ महिनाको अवधिमा टिआईएबाट कुल ६५ हजार ७३५ जना नेपाली भारत गएका छन् । 

सन् २०२५ को जनवरीमा १३ हजार ७९, फेव्रुअरीमा १० हजार ५६८, मार्चमा ८ हजार २६०, अप्रिलमा ८ हजार ७८५, मेमा ७ हजार ९१३, जुनमा १० हजार ६७१ र जुलाई १ देखि १६ सम्म ६ हजार ४५९ जना नेपाली टिआर्ईएबाट भारत गएको देखिन्छ । 

“सन् २०२५ को जनवरी र फेव्रुअरीमा महाकुम्भ मेला चलेका कारण स्नान गर्न जाने धेरै हुँदा टिआईएबाट भारत जानेको संख्या ठूलो देखिनु स्वभाविक हो,” अध्यागमन विभाग स्रोतले भन्यो, “तर जुन र जुलाईमा जुन प्रकारले टिआईएबाट भारत जानेको संख्या बढेको छ यो अस्वभाविक देखिन्छ ।” 

मे महिनाको अन्तिमतिरबाट अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गरेको थियो । मे महिनामाभन्दा जुनमा टिआईएबाट भारत जानेको संख्या २ हजार ७५८ ले बढेको छ । अर्थात मे महिनाको तुलनामा जुनमा टिआईएहुँदै भारत जानेको संख्या ३४.८५ प्रतिशतले बढेको छ । 

जुलाईमा यो संख्या अझ बढ्ने देखिन्छ । जुन गतिमा टिआईबाट भारत गइरहेका छन्, त्यो गति कायम रहे जुलाईमा टिआईए हुँदै भारत जानेको संख्या १२ हजार नाघ्ने देखिन्छ । 

विभागको तथ्याङ्क अनुसार, सन् २०२४ मा घुम्ने उद्देश्यले टिआर्ईए हुँदै ६४ हजार ६७८ जना नेपाली भारत गएका थिए । अघिल्लो वर्ष जति नेपाली टीआईएबाट भारत गएका थिए, त्योभन्दा बढी सन् २०२५ को साढे ६ महिनाको अवधिमा गइसकेका छन् ।

“पछिल्लो तथ्याङ्कले सेटिङ्मा टिआईबाट सिधै विदेश जानेहरू अब पहिला भारत र त्यसपछि भारतबाट अन्यत्र लाग्ने गरेको देखिन्छ,” स्रोतले भन्यो । 

मानव तस्करको सेटिङ र टिआईएस्थित अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा ठूलो संख्यामा नेपाली दैनिक भिजिट भिसामा विदेश जाने गरेको सूचना प्राप्त गरेपछि अख्तियारले गोप्य रुपमा यसको अनुसन्धान गरिरहेको थियो ।

अख्तियारले अनुसन्धान गरिरहेको सूचना चुहिएपछि गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई २०२५ मे २० मा गृह मन्त्रालयमा तानेका (सरुवा गरेका) थिए ।

गृहमन्त्री लेखकले सरुवा गरेपछि भट्टराई सन् २०२४ अक्टोबर ९ बाट टिआईएस्थित अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रुपमा हाजिर भएका थिए । अध्यागमनबाट गृह मन्त्रालयमा तानेको भोलिपल्ट अर्थात् मे २१ मा अख्तियारको टोलीले भट्राईलाई नियन्त्रणमा लिएको थियो । 

त्यही दिन अख्तियारको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो । अध्यागमनका तीन जना कर्मचारीलाई नियन्त्रणमा समेत लिएको थियो । अख्तियारले नियन्त्रणमा लिएको भोलिपल्टै गृह मन्त्रालयका सहसचिवलाई छाडेको थियो ।

त्यसपछि गृहमन्त्री रमेश लेखकको नाम पनि भिजिट भिसा प्रकरणमा जोडियो । भिजिट भिसामा विदेश जानेसँग अवैध तरिकाले उठाएको दैनिक लाखौं रकम गृहको उच्च तहसम्म पुग्ने सूचना सामाजिक सञ्जाल र केही मिडियाले उल्लेख गरेपछि यस प्रकरणमा लेखक पनि तानिएका हुन् । 

यसै प्रकरणमा नाम जोडिएपछि प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री लेखकको राजीनामा माग्दै निरन्तर प्रतिनिधिसभा बैठक विरोध जनाउँदै आएका छन् । सुरुमा विरोध जनाउनेमा नेकपा (माओवादी केन्द्र) पनि सहभागी थियो तर पछि सरकारसँग सहमति गरी पछि हटेको थियो । 

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणका सम्बन्धमा छानबिन गर्न गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन समिति वा संसदीय समितिको माग गर्दै आएका छन् । सरकारले भने माओवादीसँग सम्झौता भएबमोजिम पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा छानविन समिति गठन गरेको छ । 

मानव तस्करले भिजिट भिसामा विदेश जानेसँग रकम असुल्ने र उक्त रकम अध्यागमनका कर्मचारीसम्म उनीहरूले पुयाउने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

गृह मन्त्रालयको तथ्याङ्क अनुसार, पछिल्लो ३ वर्ष साढे ७ महिनामा ८ लाख १ हजार ६६६ जना नेपाली पर्यटन भिसामा विदेश गएका छन् । २०७८ असोज २४ गतेदेखि २०८२ जेठ ८ गतेसम्मको अवधिमा उक्त संख्यामा नेपाली पर्यटन भिसामा विदेश गएका हुन् । 

उक्त समयमा बालकृष्ण खाँण १७ महिना १४ दिन गृहमन्त्री हुँदा २ लाख ४३ हजार ७५४ जना, रवि लामिछाने ५ महिना ११ दिन गृहमन्त्री हुँदा (दुई पटक) १ लाख १६ हजार २१० जना, नारायणकाजी श्रेष्ठ ११ महिना ५ दिन गृहमन्त्री हुँदा २ लाख १२ हजार ७७७ जना, पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको समेत जिम्मेवारी ३ दिन सम्हाल्दा २ हजार ५६० जना र रमेश लेखक २०८१ असार ३१ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न सुरु गरेयताको १० महिना १६ दिनमा २ लाख ३८ हजार १८२ जना नेपाली भिजिट भिसामा विदेश गएको देखिन्छ । 

अध्यागमन विभागको तथ्याङकअनुसार सन् २०२४ मा १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका थिए । यीमध्ये भिजिट भिसामा सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म विश्वका डेढ सयभन्दा बढी देशमा जाने नेपालीको संख्या २ लाख ७४ हजार ४२८ थियो । 

यस्तै, सन् २०२३ मा २ लाख ४ हजार ५१८ जना नेपाली पर्यटन भिसामा विदेश गएका थिए ।  सन् २०२२ मा पर्यटन भिसामा विदेश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । 

मानव तस्करहरूले नेपालीलाई प्रलोभन देखाई भिजिट भिसामा यूएई पुर्याउने गरेका छन् । कसैलाई अमेरिका पुर्‍याउने र कसैलाई युरोपका देशहरू, पछिल्लो समय रुसी सेनामा भर्ती गराउन नेपालीलाई भिजिट भीसामा यूएई पुर्‍याउने गरेको पाइन्छ । 

पछिल्लो समय मानव तस्करले भिजिट भिसामा नेपालीलाई थाइल्याण्ड, म्यानमार, लाओस, कम्बोडिया लागि अवैध धन्दामा लगाउने गरेको समेत पाइएको छ । 

खाडी राष्ट्रहरूमा घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन सरकारले रोक लगाएको छ । तर मानव तस्करहरूले ठूलो संख्यामा नेपाली महिलालाई भिजिट भिसामा खाडी राष्ट्र पुर्याइ घरेलु कामदार बनाउने गरेका छन् । 
 
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्