site stats
बाह्रखरी :: Baahrakhari
कला
‘बलिदान’को ६० फुट अग्लो पोस्टर सार्वजनिक

काठमाडौं । दसैंको फूलपातीको दिन रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बलिदान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोंगबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो । 

पोस्टरमा रगतले लतपतिएका, घाइते तर क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट छन् । उनी मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । 

समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले पोस्टरलाई प्रतीकात्मक बनाएको छ । पोस्टरका यी दृश्यले द्वन्द्व र देशभक्ति झल्काउँछ  ।

पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले यो चलचित्र एउटा सिनेम्याटिक क्रान्तिको सुरुआत रहेको बताए । “बलिदान एउटा सिनेम्याटिक क्रान्तिको सुरुआत हो,” उनले भने, “विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि अब गर्वका साथ भन्न सक्छौँ, बलिदान केवल चलचित्र होइन, यो एउटा अभियान बनिसकेको छ ।” 

‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्