
काठमाडौं । काठमाडौं महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनको मोटरसाइकलमा नगरप्रहरी र ट्राफिक प्रहरीले ‘ह्विललक’ लगाएको खुलेको छ ।
महाबौद्वबाट असन जाने बाटोमा पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकलमा ह्विललक लगाएको खुलेको हो । महर्जनले बुधबार महानगरको नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकमा यस्तो बताएका छन् ।
"मेरो छोराको अपरेशन थियो । वीर अस्पतालमा औषधि किन्न गएको थिएँ । सो क्रममा महाबौद्वमा पार्किङ गरेको थिएँ । नगरप्रहरीले ह्विललक लगाएछ । त्यहाँ औषधि नपाएपछि पठाओ बुक गरेर हरिसिद्वि पुगेँ । पछि राजु पाण्डेलाई फोन गरेँ । अनि वडामा मोटरसाइकल आयो," उनले भने ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा 'पिक एन्ड ड्रप' लागु गर्नुपर्ने उनले माग गरेका छन् । नगरप्रहरीलाई उचित तालिमको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । पार्किङ हटाउँदा न्युरोड क्षेत्रको व्यापार घटेको पनि उनले बताए ।