
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई चरम अतिवादको शैली अवलम्बन नगर्न चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद बजगाईंले रास्वपाले सरकारमा जाँदासमेत कांग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको आरोप लगाए ।
रास्वपा देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रोपोगान्डामा व्यस्त रहेको उनको आरोप छ । उनले रास्वपाले थालेको हस्ताक्षर अभियानसमेत गैरकानुनी रहेको टिप्पणी गरे ।
"अहिलेसम्म तपाईंहरूको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन । मात्र सत्तामा हाम्रो पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो हिजोको सत्ता आरोहण गर्दा । अहिले पनि प्रोपोगान्डामै व्यस्त हुनुहुन्छ । बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ– पर्ख २०८४ मा देखाउँछौँ । यो प्रतिशोधको भाषा थियो," उनले भने ।
उनले अगाडि थपे, "त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ । यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ, जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन । देशलाई अहिले बदलाको होइन, दिशा र दृष्टिकोणको खाँचो छ । र, यो हामीबाट अनुशरण गर्नुपर्छ ।"
न्युज एजेन्सी नेपालबाट ।