काठमाडौं । बैंकिङ क्षेत्रमा नबिल बैंकको साख छुट्टै छ । स्थापनाको ४१ वर्ष पूरा गरेको नबिल बैंकले आफ्नो विश्वसनीयता झन बढाउँदै गएको जनाएको छ । बैंक सूचकमा त अन्य बैंकहरूभन्दा अब्बल छ । यसका साथै कर्मचारी व्यवस्थापनमा पनि नबिल अब्बल देखिएको छ ।
लाभांश वितरणमा होस् वा पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, सम्पत्ति लगायतका सूचकमा नबिलले आफ्नो छुट्टै पहिचान बाएको छ । यसका साथै मानव संशाधन व्यवस्थापनमा पनि नबिल बैंकिङ उद्योगकै अब्बल मानिन्छ ।
बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहाने जनशक्ति यो बैंकमा आवद्ध सपना बुन्छन् । सपना बुन्नुमात्र हैन, नबिलमा काम गरेपछि उसले हत्तपत्त नछोड्ने बैंकका मानव संशाधन व्यवस्थापन विभागका प्रमुख दिवस कार्की बताउँछन् ।
नबिलमा काम गर्ने कर्मचारीहरुले यहाँको सेवा सुविधा काम गर्ने वातावरणका कारण हतपत अर्को विकल्प नरोज्ने कार्कीको बुझाइ छ ।
उनले भने, “नबिलले दिने तलब, भत्ता, सेवा, सुविधा र काम गर्ने वातावरणले गर्दा कर्मचारी सन्तुष्ट छन् । हामीले समय समयमा गर्ने सर्वेक्षणको डाटाले पनि कर्मचारीहरु कति सन्तुष्ट छन् भन्ने बुझिन्छ ।”
फाइनान्स कम्पनी र वाणिज्य बैंक अक्वायर प्राप्ति नबिलमा समाहित भए । नबिलले यी संस्थाबाट आएका जनशक्तिलाई व्यवस्थापन सहज रूपमा गरेको पाइन्छ । हुन त मर्जरमा सबैभन्दा ठूलो चुनौती नै मानव संशाधन व्यवस्थापन थियो ।
फरक संस्थामा काम गरेका कर्मचारीलाई एकैपटक अर्काे संस्थामा गाभ्दा सहज नहुनु स्वाभाविक हो तर नबिलले बिना ठूलो चुनौती मानव संशाधन व्यवस्थापन गरेको कार्की बताउँछन् ।
भौतिक सम्पत्ति त कागजातमा मिलाए पुग्छ । तर, मान्छेको मिलानमा मनको मिलन हुनुपर्छ । तर, नबिलले कसैलाई पनि मर्का नपर्ने गरी व्यवस्थापन गरेको छ । त्यसको प्रभाव बैंकले दिएको सेवा र बैंकिङ उद्योगमा बनाएको पहिचानले पनि झल्काउँछ ।
बैंक तथा वित्तीय संस्थामा सुविधासँगै कामको चाप पनि उत्तिकै हुन्छ । “कर्मचारीहरुलाई काममा उत्प्रेरित राख्न विभिन्न वृत्ति विकासका तालिमहरु गर्ने,र शारिरीक तथा मानसिक वेलबिइङको तालिम तथा कार्यक्रम गर्ने गरेका छौँ,” कार्की बताउँछन् ।
कर्मचारीले काम अनुसारको सेवा सुविधा र वातावरण पाएपछि काम पनि उहीअनुसार गर्छन् भन्ने मान्यता रहेको उनको भनाइ छ ।
नबिलले कर्मचारीको क्षमता वृत्तिविकासका लागि समय समयमा विभिन्न किसिममा प्रशिक्षण तथा तालिम आयोजना गर्दै आएको छ । अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेर यस्ता तालिम आयोजना गरिने कार्की बताउँछन् ।
हाल नबिल बैंकले मुलुकभर २६८ शाखा, ३२१ एटीएम र २१ एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाख ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । देशभरका यी शाखामार्फत २५ सय भन्दा बढी कर्मचारीले सेवा दिइरहेका छन् ।
सूचकांकमा नबिल बैंक
चार दशकभन्दा बढी लामो यात्रामा नबिल बैंक एउटा वित्तीय संस्था मात्रै नभई, नेपालका लाखौँ नागरिकको सपना र समृद्धिको सहयात्री बनेको छ ।
आर्थिक वर्ष २०४१/४२ मा बैंकको नेटवर्थ दुई करोड ८० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा ६१ अर्ब २४ करोड ७० लाख पुगेको छ । त्यस्तै, निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर आ.व. २०८१/८२ मा आइपुग्दा पाँच खर्ब १० अर्ब ६६ करोड ९० लाख पुगेको छ ।
बैंकका अनुसार, कर्जा प्रवाह आ.व. २०४१/४२ मा १३ करोड ३० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा यो बढेर चार खर्ब १५ अर्ब ८२ करोड ९० लाख पुगेको छ । बैंकको कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर आ.व. २०८१/८२ को तेस्रो त्रैमाससम्म ६ खर्ब ११ अर्ब ८६ करोड २० लाख पुगेको छ ।
प्रारम्भिक वर्षमा बैंकको करपछिको नाफा १० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा पाँच अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।