site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाविरुद्ध प्रतिशोधात्मक व्यापार कर घोषणा गर्ने ईयूको कदम स्थगित

काठमाडौं । युरेपेली संगठन (ईयू)ले अमेरिकी निर्यातमा लगाउने प्रतिशोधात्मक कर फेरि स्थगित गरेको युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले घोषणा गरेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र एलुमिनियममा लगाएको आयात करको जवाफमा मंगलबारबाट ईयूले प्रतिशोधात्मक कर लगाउन लागेको बताइएको थियो ।

ईयूको प्रतिशोधात्मक करले २१ अर्ब युरो बराबरको अमेरिकी सामानहरूलाई प्रभावित गर्नसक्ने बताइएको थियो । यस्तै जवाफी कर यसअघि पहिलोपटक मार्चमा स्थगित गरिएको थियो । यो घोषणालाई अगस्टको सुरुसम्म लम्ब्याइएको भोन डेर लेयनले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।

ईयूका व्यापार मन्त्रीहरूले सोमबार ब्रसेल्समा भेटेर कसरी जवाफ दिने भन्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । 
यसअघि ट्रम्पले भोन डेर लेयनलाई पत्र लेख्दै १ अगस्तबाट ईयूको आयातमा ३० प्रतिशत कर लगाउने आफ्नो योजना घोषणा गरेका थिए ।

भोन डेर लेयनले आइतबार पत्रकारहरूलाई भनिन्, “अमेरिकाले हामीलाई पत्र पठाएर उपायहरूको जानकारी दिएको छ, जुन वार्ताबाट समाधान नभएमा लागु हुनेछ, त्यसैले हामीले पनि हाम्रा प्रतिशोधात्मक उपायहरूको स्थगनलाई अगस्टको सुरुसम्म लम्ब्याएका छौँ ।” 

उनले पूर्णरूपमा तयार रहँदै एकैसाथ प्रतिशोधात्मक उपायहरूको तयारी गर्ने कार्यलाई जारी राख्ने बताइन् । 

युरोपेली आयोगकी अध्यक्षले ईयूले सधैँ वार्तामार्फत समस्या  समाधानलाई प्राथमिकता दिएको भन्दै बताइन् । 

ईयूका व्यापार मन्त्रीहरू सोमबार ब्रसेल्समा भेटेर वासिङ्टनसँग कति कडा अडान लिने भन्ने विषयमा छलफल गर्ने तयारीमा छन् । बीबीसी

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्