site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन विमानस्थलमा भीआईपीका लागि छुट्टै डेस्क

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) र अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूका लागि विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरेको हो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नुहुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ,” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

भीआईपी/भीभीआईपी डेस्क प्रयोग गरी आगमन तथा प्रस्थान गर्ने व्यक्तिहरू अनिवार्यरूपमा अध्यागमन प्रक्रियामा उपस्थित भई अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने कार्यालयले जनाएको छ । अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्ने गरी कुनै ऐन, कानुनमा उल्लेख भएका व्यक्ति भने डेस्कमा आफैँ उपस्थित हुनुपर्ने छैन ।

“नेपाल राजपत्रमा उल्लेखित महानुभावहरूले मात्र उक्त भीआईपी/भीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रिया (आगमन तथा प्रस्थान) लाई सहज बनाइदिनु हुनसमेत सादर अनुरोध छ,” कार्यालयले भनेको छ ।

केही भीआईपीहरू पासपोर्टमा अध्यागमनबाट प्रस्थान छाप नै नलगाई विदेश पुग्दा अप्ठेरोमा परेपछि कार्यालयले यस्तो प्रक्रिया सुरु गरेको हो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्