site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा ‘मध्यम’सम्म वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका अरू केही भूभागमा जस्तै आज (असार २९) काठमाडौंमा पनि वर्षाको अनुमान गरिएको छ । काठमाडौंमा ‘मध्यम’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाको सम्भावना दिउँसो र राति बढी रहेको महशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । “काठमाडौंमा पनि वर्षाको सम्भावना छ । दिउँसो र राति वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “मध्यमसम्म वर्षाको सम्भावना छ ।”

काठमाडौंसहित केही स्थानमा आज र भोलि (असार ३०) मौसम उस्तैउस्तै हुने उनले बताए । शनिबार (असार २८)भन्दा यस दिन पानी पर्ने सम्भावना बढी रहेको उनले जानकारी दिए ।

कास्की, लमजुङ, गोरखा, सिन्धुपाल्चोकलगायत स्थानमा गए राति (असार २८) वर्षा भएको छ । कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस दिन बिहान पनि केही स्थानमा पानी परिरहेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास छ । यो रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपालनजिक) रहेको महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालतिर हुँदा यता वर्षाको सम्भावना बढी हुन्छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०६:३४
प्रतिक्रिया दिनुहोस्