site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कथा जीवनको प्रतिविम्ब हो

हरेक मानिसको जीवन एउटा कथा हो भन्ने मलाई लाग्दछ । प्रत्येक मानिसले जीवनमा कि आफ्नो कथा कि अरूको कथा बोकेर हिँडेको हुन्छ । मान्छे भनेकै कथाको भरिया हो भनिदिँदा अन्यथा हुन्न होला । कथा जीवनको पर्याय हो । त्यसैले कथा जीवनको प्रतिविम्ब हो भन्दा हुन्छ ।

जीवन जति सत्य छ, कथा पनि त्यतिकै सत्य हो । कथा मानिसको जीवन भोग्दै जाने क्रममा बन्दै जाने रहेछ ।

हामीले साहित्यिक हिसाबबाट हेर्दा कथा कस्तो हुन्छ भन्ने विषयलाई यसरी बुझ्न सकिन्छ, त्यहाँ अर्थात् कथामा जीवनको अनिवार्य उपस्थिति हुनुपर्छ । कथा संक्षिप्त हुन्छ, हामीलाई थाहा छ । तर, जीवनको कुनै एउटा पक्षको पूर्ण स्वरूप कथाले विम्बात्मक र प्रतीकात्मक किमिसबाट अभिव्यक्त गरिरहेको हुन्छ । त्यसलै पनि कथा रोचक हुन्छ ।

हामीलाई कथा रोचक किन लाग्छ भने कथाले एउटा शिल्पका साथ, एउटा आकार र निश्चित प्रकृतिका साथ सत्यलाई बोलिरहेको हुन्छ । त्यसैले पनि मैले भनेको हुँ, कथा जीवनकै प्रतिविम्ब हो ।

मानिसको जीवन सुरु भएदेखि नै कथा सँगसँगै हिँडिरहेको छ । मानव सभ्यताको इतिहास र कथाको इतिहास अनौपचारिक रूपमा भन्ने हो भने समानान्तर रूपमै हिँडिरहेको देखिन्छ । कथाबाटै मानिसले जीवनलाई सिक्दै गएका छन् भने जीवनले फेरि नयाँनयाँ कथाहरू जन्माउँदै गएको छ ।

जस्तो, महाभारतमा पनि एउटा कथा भनिएको छ । हो, हामीलाई त्यो समयको जीवनलाई बुझ्न त्यो कथा कस्तो काम लागेको छ ! त्यसो त महाभारत काव्यात्मक रूपमा आयो, तर सार त कथा नै हो । त्यसको अभिव्यक्तिको शैली काव्यात्मक भयो ।

महाभारतमा जीवनकै घटना–दुर्घटनाहरूका माध्यमबाट एउटा उद्देश्य दिइरहेको हुन्छ । त्यसले एउटा पाठ पनि सिकाइरहेको हुन्छ । त्यसैबाट हामीले केही सिक्दै पनि गइरहेका हुन्छौँ ।

पहिलेको कथा र अहिलेका कथामा केही भिन्नता छ नै । मानिस भनेको नवीनता पिपाशु प्राणी हो । मान्छेलाई जहिल्यै कुनै पनि विषय वा सन्दर्भ नयाँ किसिमबाट भनूँ वा सुनूँजस्तो लागिरहेको हुन्छ । हरेक मान्छेलाई नयाँ स्वादमा पस्किएको सामग्री पढ्न मन लाग्छ । त्यसैले मानिसको नवीनता पिपाशु प्रवृत्तिले गर्दा कथामा जहिले पनि नवीनता अपरिहार्य मानिन्छ ।

जसले रोचक ढंगबाट नवीनताका साथ कथा भन्न सक्छ, उसले पाठकलाई तान्छ नै । आखिर कथामा भन्ने त जीवन नै हो । बोल्ने त जीवन नै हो । टिप्ने त जीवनलाई नै हो । यसरी जीवनलाई टिप्ने तौरतरिका नवीन रूपमा आयो भने त्यो कथा रोचक हुन्छ । त्यसले पाठकलाई तान्छ ।

भन्न त साहित्यमा सर्वप्राचीन विधा कवितालाई भनिन्छ । तर, त्योभन्दा पनि कथा पुरानो हो । किनभने, कवितामा पनि त कथा नै हुन्छ । हामीले पढेका महाभारत र रामायण पनि कथा नै हो । त्यसको प्रस्तुतिमा काव्यात्मक लय आयो त्यति मात्रै हो ।

तसर्थ, सर्वप्राचीन विधा, मानव सभ्यताको सुरुआतदेखि नै सँगसँगै आएको भनेकै कथा हो । र, त्यसले निरन्तर रूपमा मानिसको नवीनता पिपाशु स्वभावलाई न्याय गर्ने प्रयास गरिरहेको छ । विभिन्न कालखण्डमा कथाले विभिन्न स्वरूपमा आफूलाई अगाडि ल्याइरहेको छ ।

एउटा लेखकलाई पाठकले जहिले पनि मार्गनिर्देश गरिरहेको हुन्छ । पाठकको रुचि कस्तो छ, लेखकले त्यसै किसिमबाट कथा लेख्न खोजिरहेको हुन्छ ।

कथा लेखनमा सीमा महत्त्वपूर्ण मानिन्छ । कथाको अभिव्यक्ति एउटा सीमामा दिइनुपर्छ । कथा भनेको १५ मिनेटमा सिद्धिने विधा हो भनिएझैँ त्यसमा संक्षिप्तता हुनुपर्छ । त्यो संक्षिप्ततामा कथाकारले जीवनको कुनै एउटा पक्षलाई पूर्णतामा अभिव्यक्त गर्न सक्नुपर्छ ।

त्यसैले कथा सूत्रात्मक र प्रतीकात्मक भएको राम्रो मानिन्छ । कथामा यस्तो सूत्रात्मकता र प्रतीकात्मकता हुनुपर्छ, जुन पढ्दा पाठकको मनलाई झस्किने गरी छोओस् । यसरी कथा लेखियो भने त्यसले पाठकको मनलाई छुन्छ ।

एक समय विवरणात्मक कथाको चलन थियो । तर, आजको समयमा कथामा फरकपन खोजिन्छ । खोजिँदै आएको छ । आज मान्छेको व्यस्तताले गर्दा धेरै विवरणात्मक कथा पाठकले रुचाउँछन् भन्ने मलाई लाग्दैन । म एउटा पाठक भएकोले पनि यसो भनेको हुँ ।

एउटा समालोचकका रूपमा नेपाली कथाहरूको अध्ययन गर्दा मैले पाएकी छु, आजका पाठकले सूत्रात्मक, प्रतीकात्मक कथाहरू खोजिरहेका छन् । जबकि, व्याख्यात्मक र वर्णनात्मक कथाले त्यसको स्तरमा प्रश्न उठाउने गरेको पाइन्छ ।

सिकारु कथाकारका कथामा वर्णन धेरै हुन्छ । तर, जब एउटा कथाकार अभ्यस्त हुन्छ कथा लेखनमा, उसले विम्बात्मक र प्रतीकात्मक रूपमा कथालाई अभिव्यक्त गर्दै आएको पाइन्छ ।

कथा कस्तो हुनुपर्छ भने जुन पढ्दा कथाले पाठकलाई आफ्नै जीवनका घटना भएको अनुभव गराइरहोस् । कथाले जीवनको धरातलीय यथार्थलाई कहीँ न कहीँ सम्बोधन गरेको होस् । संसारलाई बुझ्न त्यसले एउटा आँखाको काम गरोस् । यस्ता कथा रुचिकर हुन्छन् ।

यहाँ महाकवि देवकोटाको भनाइ सम्झना हुन्छ मलाई, ‘कथा एउटा सानो आँखीझ्याल हो, जहाँबाट संसार चियाइन्छ ।’ सानो आँखीझ्याल जसबाट हामीले जीवनको एउटा पक्षलाई गहिराइमा देख्छौँ ।

कथाको मुख्य विशेषता र ढुकढुकी भनेकै गहिराइमा सत्यलाई अभिव्यक्ति दिन सक्नु हो । कथाकारले कथामा धेरै कुरा भन्छु भनेर महत्त्वाकांक्षी भयो भने त्यो कथा असफल हुन सक्ने सम्भावना रहन्छ ।

एउटा कथाकार ‘फोकस्ड’ हुन सक्नुपर्छ आफूले कथामा प्रस्तुत गर्ने विषय र सन्दर्भमा । यसो भयो भने एउटा राम्रो कथा जन्मिन सक्छ ।

तर, कथाकार निश्चित पनि हुनुपर्छ कि आफूले भन्न खोजेको सार यही नै हो भनेर । उसले मनमा बुझ्नुपर्छ र कथामा प्रस्तुत घटना, पात्र, परिस्थिति र संवादले त्यसको सारलाई बोल्न सक्नुपर्छ । त्यसो भयो भने कथा र कथाकार दुवै सफल हुन्छन् ।

एउटा कथाकार जहिले पनि राम्रो पाठक हुनुपर्छ । आफैँ पाठक नहुने हो भने त्यो कथाकारले जसका लागि कथा लेखेको हो, उसलाई न्याय गर्न सक्दैन । कथाकार आफैँलाई चित्त बुझ्नुपर्छ आफ्नो कथा । कथा छाप्नुअघि कथाकारले एउटा पाठक भएर त्यसलाई बारम्बार पढ्नुपर्छ । र, आफ्नै कथाले उसलाई छुनुुपर्छ ।

कुनैकुनै आलेख हामी आफैँले पढ्दा रोचक लाग्न सक्छ । त्यो किन लाग्छ भने त्यहाँ लेखक लेखक हुँदैन, ऊ एउटा पाठक मात्रै हुन्छ । जब पाठक भएर हामीले आफ्नो सिर्जना पढ्छौँ र त्यो ठिकै लाग्छ भने त्यो त्यति राम्रो मानिँदैन ।

आफ्नो रचना लेखक आफैँलाई गजब लाग्नुपर्छ । जब आफूलाई गजब लाग्छ, त्यसपछि मात्रै त्यो प्रकाशनका लागि पठाउनुपर्छ । त्यसो भए मात्र रचना पाठकलाई पनि गजब लाग्न सक्छ ।

यद्यपि, मैले जे लेखेँ ठिकै लेखेँ भन्ने आँट धेरै कम लेखकमा मात्रै हुन्छ । एउटा राम्रो कथाकार वा लेखक निर्मम पाठक र सम्पादक पनि हुन सक्नुपर्छ । त्यसपछि मात्रै राम्रो सिर्जना जन्मिन सक्छ भन्ने मलाई लाग्दछ ।

एउटा कथाकारले जहिले पनि कोसिस गर्नुपर्छ, मैले जे लेख्छु अरूको भन्दा फरक लेख्छु । कथालाई बेग्लै किसिमले प्रस्तुत गर्छु । कथा लेखनमा विषयहरू त उही नै हुन्, सफलता र असफलताका कुरा, चोट र ठेसका कुरा । उही संघर्षका अनुभव । बस्, त्यही अनुभूतिलाई नवीन स्वरूपमा अभिव्यक्त गर्न सक्नुपर्छ कथाकारले । यहाँ उल्लेख गरिएका विषयमा नयाँ कुरा केही पनि छैनन् । तर पनि लेखकले नयाँ कथा, नयाँ सिर्जना बनाउन सक्छ, जतिखेर लेखकले नयाँ कोणबाट विषयवस्तुलाई हेर्न र पर्गेल्न सक्छ । नयाँ शिल्पमा उन्न र आकार दिन सक्छ ।

वास्तवमा हरेक कथाकारको विशेषता भनेको उसको शैली नै हो । जब उसले नयाँ शैलीबाट कथाको बुनोट गर्छ, त्यो पाठकका लागि नयाँ हुन्छ । हरेक लेखकको आआफ्नै शैली हुन्छ । अर्कोले त्यो शैलीमा लेख्न सक्दैन ।

कुनै एउटा विषय धेरैले अनुभव गर्न सक्छन्, तर लेख्न त शैली र सीप भएकाले मात्रै सक्छन् । तसर्थ, मौलिकता बचाएर एउटा कथाकारले कथा लेख्न सक्नुपर्छ । त्यति बेला मात्र राम्रो कथा जन्मिन सक्छ । कथाकारले बुझ्नुपर्छ, कथाले व्याख्याको माग गर्दैन भन्ने ।

उदाहरणका रूपमा लिऊँ बीपी कोइरालाका कथाहरूलाई । उनको कथा यति सूत्रात्मक छ कि त्यसबाट हजार अर्थ निकाल्न सकिन्छ । मैले एउटा सामान्य उदाहरण मात्रै दिएकी हुँ ।

अहिलेको पाठक लेखकभन्दा पनि बढी चेतनशील छन् । तिनमा अध्ययनको विराटता छ । अहिलेका पाठक रचनाको मूल्यांकन गर्न सक्ने सामर्थ्य राख्दछन् । त्यसैले आजका कथाकार सधैँ सचेत हुनुपर्छ । कथाकारले छाप्न हतार गर्नु हुन्न । बरु, त्यसलाई बनाउनतिर विशेष ध्यान दिनुपर्छ र एउटा अब्बल कथाको निर्माणमा लाग्नुपर्छ ।

आजको समय भनेको नयाँ समय हो । हरेक कुरामा नवीन फड्को आइरहेको छ । प्रेमको कथा कसैले लेख्छ भने पनि प्रेमकै पनि अनेक आयाम र रूप आइसकेको छ । पुरानो किसिम प्रेमकथाको अब काम छैन ।

चरम घृणामा पनि चरम प्रेम अन्तरनिहित भएको हुनसक्छ । कसैलाई किन धेरै घृणा लाग्छ ? घृणा गर्दा पनि त मिहिनेत त पर्छ । घृणा गर्न पनि त कसैले त्यसलाई दिमागमा राखिरहेको हुन्छ नि !

प्रकारान्तरमा त्यो प्रेम नै हो । आशक्ति नै हो । किनभने, घृणा गर्नैलाई पनि उसले कसैलाई दिमागमा राखिरहेको छ । यसरी प्रेमलाई पनि नयाँ किसिमबाट कथाकारले कथामा बुन्न सक्छ ।

यसको अर्थ के हो भने कुनै पनि कथाकारले कथाको विषयलाई नवीन शैली, प्रस्तुति र शिल्पका साथ पाठकसामु प्रस्तुत गर्न सक्नुपर्छ ।

(समालोचक प्रा. डा. ज्ञानू पाण्डेसँग गरिएको कुराकानीमा आधारित ।) 
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्