
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबारबाट लागु गर्ने गरी नैतिक संहिता जारी गरेको छ ।
नैतिक संहिताअनुसार, अबदेखि अध्यागमन कार्यालयमा खटिने कर्मचारीले नेपालबाट विदेश प्रस्थान गर्नेलाई अनिवार्य रूपमा ‘ह्याव अ नाइस जर्नी’ भन्नुपर्नेछ । यस्तै, विदेशबाट नेपाल आउनेहरूलाई ‘वेलकम टु नेपाल, ह्याव अ नाइस डे’ भन्नुपर्ने नैतिक संहितामा उल्लेख गरिएको छ ।
नेपाल प्रवेश गर्ने र नेपालबाट प्रस्थान गर्नेहरूसँग थोरै र आवश्यक प्रश्नहरू मान गर्न पनि नैतिक संहितामा भनिएको छ । नैतिक संहितामा खाडी मुलुकहरूलगायत श्रम/काम गर्न जानेहरूलाई सम्मानयुक्त शब्दहरू प्रयोग गर्नुपर्ने उल्लेख छ । रुखो व्यवहार नगर्न र बोली वचनमा मिठासपना दिन पनि जोड दिइएको छ ।
देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीवचन र हाउभाउले आत्मीयता प्रदान गर्ने लगायतका विषयहरू नैतिक संहितामा समेटिएको छ ।
नैतिक संहिता अनुरुपको व्यवहार देखिएको वा नदेखिएको यात्रुहरूले तत्कालै व्यक्त गर्न हाल कार्यालयको १५ वटा डेस्कमा आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्नेगरी ‘एक्जिट सर्भे’ राखिएको अध्यागमन कार्यालयले जनाएको छ ।
सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन अध्यागमन कार्यालयका कर्मचारीको लागि नैतिक संहिता बनाइएको बताइएको छ ।