
काठमाडौंं । रसुवामा मंगलबार आएको बाढीले ३५० मेगावाट जलविद्युत् आयोजनाको काम रोकिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सञ्चालनमा रहेका २५० मेगावाट र बन्दै गरेका ३५० मेगावाटको उत्पादन तथा निर्माण कार्य रोकिएको जनाएको छ ।
सञ्चालनमा रहेका १११ मेगावाट क्षमताको रसुवागढी, ६० मेगावाटको त्रिशूली थ्री ए, २५ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत्, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत् परियोजना र पाँच मेगावाटको मैलुङ खोला जलविद्युतकाे उत्पादन बन्द भएको छ ।
यी मध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हब सवस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।
निर्माणाधीन आयोजनाहरूमा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली ३बी हब सवस्टेसन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको उत्पादनमा घाटा व्यहोर्नुपर्ने देखिन्छ ।
चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका दशभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो ।
देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत् आयोजना रहेको इप्पानले जनाएको छ ।