site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
...अनि आधार वर्ष बन्यो, नैतिकताका आधारमा राजीनामा

जब शासकीय वृत्तमा कुनै घटना हुन्छ, तब ‘नैतिकता’का आधारमा राजीनामा’को मागले मुलुक रंगमंग्गिन्छ । अनि कसैले ‘नैतिकता’ प्रदर्शन गर्छन्, कोही चाहिँ ज्याद्रो बन्छन् । 

यतिखेर पनि राज्य व्यवस्था सुशासन समितिका सभापति रामहरि खतिवडामाथि ‘नैतिकताको तरबार’ झुन्डिएको छ, निजामती विधेयकभित्रको बहुचर्चित ‘कुलिङ पिरियड’ प्रावधानमा खेलवाडको आरोप लगाउँदै । गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकमाथि पनि नैतिकताको दबाब परिरहेकै छ, भिजिट भिसा प्रकरणमा ।

यसबाहेक २०४४ सालको दशरथ रंगशाला कान्डका केशरबहादुर विष्टदेखि बहुदलीय कालखण्डमा अनगन्ती पात्रहरू नैतिकताको आधारमा बाहिरिन बाध्य भए भने कतिले नैतिकता दम्पच पारे ।

अनि दरिलो उदाहरण दिनुपर्दा, पहिलो नम्बरमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको नाम आउँछ । शासकीय नैतिकता सन्दर्भमा उनको नाम छुट्दैन । उनैको उदाहरण दिँदै सभामुख, मन्त्रीहरुलाई राजीनामा दिन बाध्य पारिएको इतिहास छ ।

जसले सिंहदरबार जल्दा नैतिकता प्रदर्शन गरे । जुन घटना हो, आजभन्दा ५२ वर्षअघिको ।

२०३० असार २४ को मध्यरात बित्दै २५ लाग्दै गर्दा राति १ बजे शासकीय केन्द्र सिंहदरबार दनदनी बल्यो । 

सिंहदरबार मुलुकको प्रशासनिक केन्द्र, जहाँ प्रधानमन्त्री–मन्त्रिपरिषद् कार्यालयदेखि अर्थ, गृह, परराष्ट्र हुँदै महत्वपूर्ण मन्त्रालय त्यही भवनभित्र थिए । अर्थात्, उतिखेर सिंहदरबारभित्र धेरैवटा मन्त्रालय अटाएका थिए ।

सिंहदरबार मात्र जलेन कि हाम्रा ऐतिहासिक कागजपत्र पनि जले । जैसी कोठा अर्थात् राणाकालीन परराष्ट्र मन्त्रालय । जहाँ भोट–चीनसम्बन्धी पुराना अभिलेखहरूका सङ्ग्रह थिए । ऐतिहासिक वस्तुकला/दस्तावेजदेखि सन्धि–सम्झौताका कागजात पनि जले । अर्थात् हाम्रा ऐतिहासिक दस्तावेज धुँवाको मुस्लो हुँदै कुहिरी–मण्डलमै बिलाए । 

हावामा कागजका टुक्रा–टुक्रा बन्दै टाढा–टाढा पुगेका थिए । उतिखेर सिंहदरबार मात्र जलेको होइन कि नेपालकै इतिहासमा आगलागी भएको टिप्पणी आएका थिए ।

सिंहदरबार खाग बनिरहँदा काठमाडौंबासी त्रस्त थिए । धेरैको आँखा रसाएका थिए । 

सिंहदरबार जल्नुको जवाफदेही बहन गर्दै छ दिनपछि विष्टले प्रधानमन्त्रीको कुर्सी छाडे । त्यही घटनाबाट सुरुआत हुन्छ, शासकीय इतिहासमा ‘नैतिकताको आधारमा राजीनामा’ शब्दावली । 

अर्थात्, २०३० साल ‘नैतिकता’को आधार वर्ष बन्यो, शासकीय राजनीतिमा । 

मुलुककै इतिहास बोकेको सिंहदरबार जल्नुमा त्यति चासो राखिँदैन, जति विष्टको नैतिकताका आधारमा राजीनामालाई राखिन्छ ।

उसो त, विष्टमाथि राजीनामा गर्न दबाब नपरेको होइन । 

त्यो आगलागी हुँदै गर्दा ग्यालरी बैठकमा राष्ट्रिय पञ्चायतको बाइसौं अधिवेशन चलिरहेको थियो । जतिखेर ग्यालरी बैठकमा बजेटमाथि बहस हुँदै थियो । सिंहदरबार अग्निकाण्डसँगै राष्ट्रिय पञ्चायत सदस्य (रापंस) हरुले घुमाउँरो शैलीमा ‘नैतिकता’का निम्ति दबाब दिए ।

खासगरी पञ्चायतभित्र सूर्यबहादुर थापा गुट सिंहदरबार जल्नुमा शंकाको आधारमा देखाउँदै रिस फेर्न चाहन्थे, विष्टसँग । किनभने पूर्वप्रधानमन्त्री थापालाई विष्टले एक वर्षदेखि थुनामा राखेका थिए, शान्ति सुरक्षा खल्बल्याएको अभियोगमा । 

जब श्री ३ महाराज देवशमशेरलाई धनकुटा लखेटे, उनैका कोखे भाइ चन्द्रशमशेरले । सँगै चन्द्रशमशेरका निम्ति विलासी दरबार चाहियो । 

उनी प्रधानमन्त्री भएकै वर्ष १९५८ सालमा सिंहदरबार बनाउन सुरु गरे । त्यो दरबार अढाइ वर्षमा पूरा भएको थियो । प्रारम्भमा ४०४ कोठा थिए । पछि थपिँदै एक हजार कोठा नाघेको थियो, जतिखेर जल्दै थियो ।

एसियाकै विख्यात दरबारभित्र पर्थ्योे, सिंहदरबार । जब सिंहदरबार बन्यो, तब चन्द्रशमशेरले सिंहदरबार छिरेपछि भारदारीसभा बोलाए, त्यो दरबार सरकारलाई बेच्दै श्री ३ निवास घोषणा गरे । 

इतिहासविद् पुरुषोत्तमशमशेर जबराको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ अनुसार, ‘अबदेखि जो श्री ३ महाराज हुन्छ, ऊ यस सिंहदरबारमा बस्न पाउनेछ । यो दरबार मैले नेपाल सरकारलाई आजदेखि बेचें ।’ त्यसै बहानामा उनले सरकारी ढुकुटी–कौसीबाट तुरुन्त दुई करोड झिकेर लिए । 

त्यसो त, तुजुकमै रचिएको ‘सिंहदरबार’ को नाम पनि । उनैको पुस्तकअनुसार, दरबार निर्माण भइसकेपछि छतबाट पश्चिमतिर फर्केर हेर्दा चन्द्रशमशेरकी महारानीले ‘बागदरबार’ देखिछन् । बागदरबार भन्दा के कम ? 

महारानीले तत्कालै श्री ३ महाराजलाई सुझाइन्– दरबारको नाम ‘सिंहदरबार’ राख्नुपर्छ । चन्द्रशमशेरलाई मन नपर्ने कुरै भएन– तत्कालै आफ्नो दरबारको नाम सिंहदरबार घोषित गरिदिए ।

सिंहदरबार जलिरहँदा...

एकातिर सिंहदरबार जल्दैथियो, आडैको ग्यालरी बैठकभित्रका राष्ट्रिय पञ्चायत सदस्य स्वाभाविक रुपमा भावविभोर हुने नै भए । रापंसहरुलाई अग्नि काण्ड सपना हो कि विपना भन्ने लाग्यो । जतिखेर बजेटमाथि घनीभूत छलफलबाट बाहिरिँदै आगलागी काण्डतिर मोडिए ।

आगलागी भएकै दिन दिउँसो साढे एक बजे राष्ट्रिय पञ्चायत बैठक बस्यो । सदनको प्रारम्भमै सदस्य ललित चन्दले प्रस्ताव राखे, ‘राष्ट्रिय पञ्चायत सदस्यहरुसमेत समावेश गरी निष्पक्ष तवरले त्यस भीषण अग्निकाण्डको जाँचबुझ गर्न एउटा कमिटि गठन गरियोस् ।’ 

उनको बोली नसकिँदै तत्कालीन प्रधानमन्त्री विष्टले सदनमा भने, ‘यसरी सिंहदरबार सचिवालयमा आगलागी हुँदा कतिपय मूल्यवान सरकारी कागजातहरु नष्ट हुन गएका छन् । हुन त केही कागजातहरु आगलागीकै दौरानमा पनि निकालिएका छन् । तर, ती सबैको छानबिन गरी बुझबुझारथ भइसकेपछि के/कति कस्ता प्रकारका सरकारी कागजातहरु नष्ट भएका छन् भन्ने कुरा त्यसैबखत मात्र थाहा हुनेछ ।’

राष्ट्रिय पञ्चायत अध्यक्षले सिधै बैठक स्थगित गरेनन् । रापंस होमबहादुर श्रेष्ठको प्रस्तावमा राधाप्रसाद घिमिरेले समर्थन जनाएपछि ‘ध्वनि मत’बाट बैठक स्थगित गर्ने सर्वसम्मत् निर्णय भएको थियो ।

भोलिपल्ट फेरि अग्नि काण्ड राष्ट्रिय पञ्चायतभित्र बहस चल्यो । फेरि रापंस ललित चन्दले प्रस्ताव राखे, ‘सिंहदरबारमा भएको भीषण अग्नि काण्ड हेर्दा मलाई ठूलो दुःखको अनुभव भयो । त्यो दृश्यले मेरो हृदय अति विदारक भयो र यो प्रस्ताव पेश गर्ने मेरो हृदयमा कुतकुति हिजोदेखि उत्पन्न भएको हो । सिंहदरबार सचिवालय विश्वविख्यात छ भन्न अत्युक्ति नहोला । एसियामा भएका ठूला सेक्रेटरियटमध्ये यो पनि एक हो । दुर्भाग्यवश यो सचिवालय जल्न गयो ।’

उनको प्रस्तावमाथि राष्ट्रिय पञ्चायतभित्र दिनभर बहस चल्यो । भावुक रापंसहरुले भने, ‘देशमा सिंहदरबार भन्ने सान नेपालको मात्र होइन, एसियामा नै थियो । सिंहदरबार अग्निले गुमाइदियो । सिंहदरबार जलेको होइन कि राष्ट्रको मुटु नै जलेको छ ।’

हुन पनि आफ्नो दरबार भव्य पार्न मुलुकका सिर्जनशील कालीगढहरुका वास्तुकला प्रयोग गरेका थिए, चन्द्रशमशेरले । हुकुमी शासक चन्द्रशमशेरको आदेशमा कालीगढहरुले सिर्जना पोख्न कुनै कसर बाँकी राखेका थिएनन् । सिंहदरबार वास्तुकलाको अनुपम कीर्तिले भरिएको थियो ।

राणाकालमा विलासी राणा शासक त्यहीँ बस्थे, सिंहदरबार झकिझकाउ हुने नै भयो । देशभरका वास्तुकलाका सामग्रीदेखि विदेशबाट आयात गरिएका बिलासी चिजबिजले सजिएको थियो । 

जब राणा शासक गए, तब सिंहदरबार मुलुकका प्रमुख प्रशासनिक केन्द्र बन्यो । सँगै राजकाजका कागज–कागजले भरिन पुग्यो ।

राष्ट्रिय पञ्चायतभित्र त्यसबेलाको बहस हेर्दा सिंहदरबार देखभाल राम्रोसँग गरिएन भन्ने देखाउँछ । राष्ट्रिय पञ्चायत सदस्य कमल राणाको भनाइमा, ‘दरबारभित्रका तार झुत्रा लुगा जसरी झुन्डिएका थिए । पाँच वर्षदेखि सिंहदरबारको वाइरिङ फेर्नुपर्छ, नत्र सिंहदरबार खाग हुन्छ भन्ने तर्क हुँदै आएको थियो । प्राविधिज्ञहरुले जाँच गरी ११ लाख रुपैयाँ इस्टिमेट गरेका थिए, तार फेर्न । तिनले त्यो रिपोर्ट मन्त्रिपरिषद्मै बुझाएका थिए । त्यो रकम खर्चन सरकार तयार भएन । जसले आगलागी निम्त्यायो ।’

हुन पनि अनुसन्धानले सिंहदरबार जल्नुमा बिजुली ‘सर्ट’लाई कारण देखायो । 

सिंहदरबार जलिरहँदा पनि सरकारमाथि रापंसहरूबाट आरोप लाग्यो, ‘बजेट जति भोगविलास र कार्यालय सजाउन रकम खर्च गर्‍यो, तर तार फेरिएन । त्यो रकम खर्च नगरी भवन सजाउने दिशामा लागेकाले यो दुर्दशा भएको हो । सिंहदरबारमा आगो लाग्दा समयमै स्वीकृति नपाउँदा दमकल भित्र पस्न नपाएर धेरैबेरसम्म ढोकामा कुर्नपर्‍यो । ब्लास्ट गर्दा पनि जुन किसिमबाट हुनुपर्थ्यो, त्यो नभएर जरैमा गरियो ।’

विष्फोटनबाट सिंहदरबारको पश्चिमपट्टिको मोहडा जोगाइयो । सिंहदरबारमा ब्लास्ट गराउँदै त्यसको असर राष्ट्रिय पञ्चायत भवनभित्र समेत परेको थियो । ब्लास्टले ऐनाघर अर्थात्, ग्यालरी बैठकका ऐनाहरु खसेका थिए । 

राष्ट्रिय पञ्चायतकै सदस्यहरुका अनुसार, २०२२ सालमा पनि सिंहदरबारमा आगो लागेको थियो । तर त्यसबेला तत्कालै ब्लास्ट गराइएको थियो । उसबेला आगो बढ्न पाएको थिएन ।

सिंहदरबार, जहाँ राम्रैसँग रजगज पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा विचलित हुन पुगे । उनी मन्त्री, मन्त्रिपरिषद्का अध्यक्ष हुँदै प्रधानमन्त्री बन्दै सिंहरदरबारको सानमा रमेका पात्र थिए । उनैको ‘मेरा नौ दशक’ पुस्तक अनुसार, ‘सिंहदरबारको ठूलो बैठकको माथिल्लो लङमा एउटा चाँदनी बैठक थियो, मुगल शैलीमा बनेको । तलपट्टि सबै यूरोपियन शैलीमा । राजा वीरेन्द्रको बिहेमा त्यो बैठक प्रयोग भएको थियो ।’

जलेको सिंहदरबारलाई नै पुनर्निर्माण गरेर शासकीय सचिवालयमै फर्काइएको थियो । आमनागरिकले तिरेको करबाट किनिएको सिंहदरबार पुनर्निर्माणका लागि फेरि नागरिकसँगै चन्दा मागिएको थियो ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीको भर्खरै सार्वजनिक ‘सुनेको शासन, भोगेको प्रशासन’ पुस्तकमा सिंहदरबारको आगलागी उल्लेख छ । जतिखेर मैनाली डिल्लीबजारमा डेरा गरी बस्ने विद्यार्थी थिए । 

उनका शब्दमा, ‘सिंहदरबारको आगलागीबाट उडेका कागज र त्यसको खरानी कुपन्डोल, नक्साल, विजेश्वरीसम्म पुगेको थियो । आगोको ज्वाला र धुँवा कैयन् दिन पछिसम्म देखिएको थियो । त्यहाँ के भएको छ भन्ने कौतूहलले केही साथीहरुसहित पुग्दा प्रधानमन्त्री कीर्तिनिधि विष्ट स्वयम् दमकलको फोहोरा चलाउने टोलीको नेतृत्व गरिरहनुभएको देखियो ।’

सिंहदरबार आगलागीपछि त्यो वर्षलाई ‘अफापसिद्ध’ ठान्यो, नेपाली समाजले । अघिल्लो वर्ष खडेरी परेपछि अनिकाल भोग्दै थियो । २०३० जेठमा पहिलो चोटि विराटनगरबाट काठमाडांै उडेको जहाज अपहरणमा परेको थियो । उता झापाली कम्युनिष्टहरुले उपद्रो मच्चाएका थिए । 

अनि नेपाली समाजमा मुलुकलाई ‘शून्य साल’ फापेन भन्नेहरुको संख्या बढायो ।

पञ्चहरु पनि खुब भावुक भए । सदनमै रेकर्ड भेटियो, ‘राष्ट्र बैंकले पैसा गुमायो, हामीले सिंहदरबार गुमायौं । राष्ट्र बैंक लुटिन्छ, सिंहदरबार जल्छ भने आज हामी के भयौं ? देशको परिस्थिति हेर्दा जनताले के भन्ला ? हामी अझ पनि स्वार्थी भावना लिएर बस्छौँ भने भावी सन्तानले के भन्लान् ?’

सिंहदरबार जलिरहँदा साक्षी थिए, तत्कालीन प्रधानमन्त्री विष्ट । अनि दिउँसो लखतरान हुँदै रणमैदानमा हारेको सिपाहीझैँ निवास फर्के । त्यसपछि राजा वीरेन्द्रकहाँ गए, राजीनामा बोक्दै । 

तर राजा वीरेन्द्रलाई राजीनामा बुझ्न चाहेनन् । पंक्तिकारसँग २०७० साउनमा विष्टले राजा वीरेन्द्रको भनाइ उद्धृत गर्दै भनेका थिए, ‘तिमी सुतिरहेको बेला आगो लाग्यो । तिमी किन जिम्मेवार हुन्छौै ? राजीनामा नगर ।’

एकातिर राष्ट्रिय पञ्चायतमा सदस्यहरु विष्टमाथि खनिँदै थिए । रापंसहरुले सदनमा बेलायती मन्त्रीको नैतिकताले प्रदर्शन गरेको उदाहरण प्रस्तुत गरे । 

सन् १९६३ ताका बेलायतका एक मन्त्रीले महिलासँग सम्पर्क–संसर्ग गरेको र ‘गोपनीयता’ भंग गरेको आरोप लागेको थियो । पत्रपत्रिकाले होटलमा महिलासँग बसेको र गफ गरेको समाचार छापे । चौतर्फी दबाबपछि बेलायती मन्त्रीले पद छाड्नुपर्‍यो । 

विष्टविरोधी रापंसहरुले ‘त्यो उदाहरण’ दिँदै नैतिकता खोज्ने क्रम अघि बढाए । विष्टलाई लागेको हुनुपर्छ कि सदन छल्न सकिँदैन, बरु राजीनामा दिँदै ढुक्क बस्नु उचित हुन्छ । 

राजा वीरेन्द्रसँग ‘कसै न कसैले नैतिकता देखाउनैपर्छ’ भनी विष्टले अडान लिएपछि राजीनामा स्वीकृत भएको थियो । उनैको शब्दमा, तेस्रो पटकको प्रयत्नपछि २०३० असार ३१ राजीनामा स्वीकृत भएको थियो ।

त्यो दिन प्रधानमन्त्रीको मात्र राजीनामा आएन, सँगै राष्ट्रिय पञ्चायत अध्यक्ष नगेन्द्रप्रसाद रिजालको पनि आयो । तर, उनको राजीनामा नैतिकतासँग जोडिएको थिएन । 

उनको राजीनामा चाहिँ प्रधानमन्त्री पदमा बढोत्तरी निम्ति ढोका खोल्न थियो । रिजालको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृतिसँगै प्रधानमन्त्रीमा नियुक्त भएको विज्ञप्ति दरबारले जारी गर्‍यो, २०३० साउन १ गते । अर्थात् विष्ट ‘नैतिकता प्रकरण’मा परेपछि रिजालको भाग्योदय भयो । 

राजा महेन्द्र र वीरेन्द्र दुवैलाई मन परेका पात्र विष्टलाई फेरि प्रधानमन्त्री बन्न चार वर्ष कुर्नुपर्‍यो । रिजालपछि डा. तुलसी गिरी हुँदै २०३४ भदौमा मात्रै उनलाई प्रधानमन्त्रीको कुर्सी मिल्यो । 

जेहोस्, तत्कालीन समयमा २०३० साललाई ‘अफापसिद्ध वर्ष’ मानियो । नेपालीले सिंहदरबार जलेको तथ्य बिर्से पनि राजनीतिकर्मीको ‘नैतिकता’ बिर्सेनन् । कालान्तरमा २०३० ‘नैतिकता’को मानक वर्षभित्र पर्न सफल भयो, नेपालको शासकीय इतिहासमा ।
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्