site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबार ग्यालरीमा एकैदिन छिरेका थिए मुसा र भारदार

नेपाली राजनीतिमा दोहोरिइरहने एउटा प्रसंग छ– ‘मुसा प्रवृत्ति ।’ नेपालको राजनीतिमा कम्तिमा पनि ४२ वर्षदेखि यो शब्द र व्यवहार प्रचलनमा छ ।

मुसा प्रवृत्तिलाई नेपाली राजनीतिमा यसरी तुलना गर्दै सुनाइन्छ– जब जहाज डुब्ने बेला हुन्छ, सबैभन्दा पहिला मुसा हाम फालेर अर्को जहाजमा चढ्छन् । अनि अर्को जहाजमा प्वाल पार्ने काम पनि तिनै मुसाबाट हुन्छ । 

अर्को जहाज पनि जब डुब्ने संकेत प्राप्त हुन्छ ती मुसाले फेरि अर्को जहाज खोज्न थाल्छन् । मुसाको काम भनेको जहाजमा प्वाल पारी पानी पसाइदिने र डुबाइदिने ! 

नेपाली राजनीतिका खास–खास पात्रलाई यसैगरी चित्रित गरिन्छ र मुसा प्रवृत्ति शब्द राजनीतिमा दोहोर्‍यान्छ ।

भनिन्छ, इतिहास जित्नेले लेख्छन् र जित्नेकै पक्षमा लेखिन्छ । यो ‘मुसा प्रवृत्ति’ नेपाली शासकीय इतिहासमा कहिले र कसरी उत्पत्ति भयो भन्ने कुराको तथ्य बेला बेलामा बङ्ग्याएर उल्लेख गर्ने गरिएको छ । 

अर्थात् शक्तिशालीले प्रयोग जहिलेदेखि गर्न थाले त्यही दिनलाई सुरुवात मानिएको छ तर राजनीतिक इतिहासका पाना पल्टाउँदा त्यस्तो पाइँदैन । हाम्रो शासकीय इतिहासमा ‘मुसा प्रवृत्ति’ उत्पत्ति दिनलाई नै बङ्ग्याइएको छ । यो शब्दावली २०५४ असोज १८ गते संसदीय राजनीतिमा मञ्चित भएपछि ‘क्वाइन’ भएको ठान्नेहरूको संख्या धेरै छ । 

माथि भनिएजस्तै ठ्याक्कै यही दिनमा नेपालका एकजना पूर्वमहापञ्च, पूर्वप्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा यसलाई मिलाएर भनेका थिए, जहाँ जनताको ठूलो संख्यालाई प्रतिनिधित्व गर्ने सांसदहरू थिए । त्यो सन्देश तिनै प्रतिनिधिमार्फत् तलसम्मै पुगेपछि त्यही दिन नै ‘क्वाइन’ भएको ठानिन्छ ।

अनि तिनै पुराना पञ्चहरू बहुदलीय व्यवस्थालाई ‘अफापसिद्ध’ तुल्याउन बारबार त्यो ‘मुसा प्रवृत्ति’ शब्द प्रयोग गर्छन् । पञ्चायतकालमा चाहिँ असल अभ्यास थियो भन्ने भान पार्न खोज्छन् ।

अनि त्यो शब्दावली ‘रचयिता’ नेपाली राजनीतिका बाह्रौँ खेलाडी अर्थात् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई ठानिन्छ । 

बहुदलकालमा आफूविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भोका पञ्चहरूले ‘कुर्सी’ निम्ति देखाएको अघोर इच्छाप्रति चन्दले व्यंग्य गरेका थिए । त्यसपछि शासकीय समाजमा ‘मुसा प्रवृत्ति’ बेलाबखतत बहसमा आउँछ ।

खासमा ‘मुसा प्रवृत्ति’ २०४० असार २७ गते प्रवेश भएको हो, सिंहदरबारस्थित ग्यालरी बैठकमा । जतिखेर मुलुकमा राष्ट्रिय पञ्चायत थियो, विधायिकी सदनका रूपमा । त्यही विधायिकी सदनमा त्यहीबेला प्रवेश भएको थियो ‘मुसा प्रवृत्ति’ ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुँदै गर्दा ४२ वर्षअघि आजैका दिन ‘मुुसा राजनीति’ प्रवेश भएको थियो ।

पञ्च शासकहरूबीच एकले अर्कालाई तल झार्न, सांकेतिक षड्यन्त्र तानाबुनासहित एकै दिन प्रवेश गराएका थिए, ‘मुसा’ र ‘भारदार’ । अनि दुवै शब्दमाथि सवालमा राम्रैसँग आपत्ति–नियमापत्ति चलेको थियो, त्यो दिन ।

‘मुसा प्रवृत्ति’ रचयिता हुन्, डा. प्रकाशचन्द्र लोहनी । अनि लक्षित थियो, सूर्यबहादुर थापामाथि । अनि थापाले इतिहास खोतल्दै डा. लोहनीलाई नै वास्तविक ‘मुसा’कै कित्तामा पुर्‍याउने प्रयत्न गरेका थिए, त्यो दिन ।

त्यो शब्द प्रयोगसँगै डा. लोहनी र चन्दले शासकीय लाभ लिए, थापा चाहिँ पञ्चायती शासनबाट पन्छिन पुगे ।

उतिखेर बहुचर्चित ग्यालरी बैठक अर्थात् बहुदलकालमा प्रतिनिधिसभा भवनमा परिणत भयो । तर, त्यही प्रवृत्ति त्यही थलोमा दोहोरिँदै मञ्चित भएको २०५४ असोज १८ का दिन पनि । यो दिन चन्दले कमल थापाहरूलाई ‘मुसा’ संज्ञा दिए । अनि लाभ लिए, सूर्यबहादुर थापा र डा. लोहनी, पशुपतिशमशेर राणाहरूले ।

लगभग दृश्य पनि उस्तै, खेलका प्रमुख खराब पात्र पनि उनै । त्यसमा बहुदलकालीन पात्रहरू मिसिन पुगे, तिनै पुराना पञ्चहरूलाई लाभ दिलाउन ।

खाली नेपालीको अल्प–स्मरणका कारण मात्रै ‘मुसा प्रवृत्ति’ प्रवेशकाल २०५४ असोज १८ गतेलाई ठानेका हुन् । अझ पञ्चायतकालमा जसरी रंगीन शैलीमा प्रस्तुत भएको थियो, आपत्ति–नियमापत्ति चलेको थियो । २०५४ मा त चन्दले एकतर्फी भन्नुबाहेक । कसैको आपत्ति–नियमापत्ति रहेन ।

दलविहीन पञ्चायतकाल दल हुने सवालै रहेन । तर, गुट चाहिँ दलीय व्यवस्थामा भन्दा कडा थिए । पञ्चायती व्यवस्था उत्तरार्द्धमा आइपुग्दा ‘चन्द–थापा’ गुटको शक्ति संघर्ष रामैै्रसँग चलिरहँदा ‘मुसा प्रवृत्ति’ झांगिएकै थियो ।

अनि यसरी सुरु भयो प्रवृत्तिको कथा

सूर्यबहादुर थापा, पञ्चायतभित्र शक्तिशाली हुँदै थिए, अझ धेरैले उनलाई आधुनिक ‘जंगबहादुर’को संज्ञा दिँदै थिए । हुन पनि प्रधानमन्त्रीको कुर्सीमा रहेर २०३७ वैशाख २० मा भएको जनमत संग्रहमा ‘सुधारिएको पञ्चायती व्यवस्था’लाई जिताएपछि थापाको तुजुक बढेकै थियो ।

२०३८ मा पञ्चायती व्यवस्थामा बालिग मताधिकारका आधारमा भएको निर्वाचनसँगै उनी सर्वसम्मत् प्रधानमन्त्री बनेका थिए ।

उनको प्रधानमन्त्रीत्वकालले दुईवर्ष पूरा गरेको मात्रै थियो । राष्ट्रिय पञ्चायतको चौतीसौँ अधिवेशन चल्दैथियो । नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको र बजेट प्रस्तुतिको तयारी हुँदै थियो । 

तर पञ्चहरू थापालाई पदच्युत गर्न लागिपरेका थिए । राजाको हुकुमपछि पनि राजीनामा नदिएपछि थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । 

राष्ट्रिय पञ्चायत अध्यक्ष मरीचमान सिंहले त्यसरी अविश्वास प्रस्तावमा मतदान गर्दा पञ्चहरूबीच फाटो आउने तर्क राख्दै प्रस्ताव टार्दै राजीनामाकै माहोल बनाउन खोज्दै थिए । त्यहीकारण उनले प्रस्ताव कार्यसूचीमा राखिरहेका थिएनन् ।

पञ्चहरूकै दबाबमा थापालाई दरबार बोलाइयो । राजा वीरेन्द्रले प्रधानमन्त्रीबाट राजीनामा गर्न निर्देशन दिए । थापाकै शब्दमा, ‘राजाले भने, होइन पीएम, हिजो–अस्ति नै मैले तिमीलाई एउटा कुरा भत्र चाहेको थिएँ । तिमी व्यस्त भयौ । मलाई यहाँ धेरै दबाब आयो । तिमीले ‘स्टेप–डाउन’ गरिदिनु पर्‍यो । यहीँ राजीनामा दिएर जाने कि ?’ 

तर, थापाले सहजै राजाको हुकुम स्वीकार गरेनन् । उनले सरकारबाट ‘हुकुम भएपछि बस्ने कुरै नआउने’ उल्लेख गर्दै तर बाहिरिने तरिका प्रस्तुत गरे । सदनबाट बजेट पारित भएपछि हट्ने धारणा राखिरहँदा वीरेन्द्रले मानेनन् । वीरेन्द्रले आफूमाथि पञ्चहरूको धेरै दबाब परेको हुँदा अगावै छाड्नु राम्रो हुने आदेश दिए ।

थापाले आफ्नो पुस्तक ‘मेरा नौ दशक’मा राजा वीरेन्द्रसँग भएका वार्तालाप बेली विस्तारमा उल्लेख गरेका छन् । त्यसपछि थापाले राजीनामा नदिने र अविश्वास प्रस्तावकै सामना गर्ने प्रस्ताव राखे । 

वीरेन्द्रसँग भने, “सरकार, म त स्वाभिमानी क्षेत्रीको बच्चा । अविश्वासको प्रस्ताव दर्ता भएको हुँदा मैले राजीनामा गरेँ भने त डराएर भागेको ठहर्छ । सरकारलाई हटायो भन्ने अवगाल आउँछ । यस्तो नालायक डराएर भाग्ने डर–छेरूवालाई यतिन्जेलसम्म प्रधानमन्त्री बनाएर राखेको रहेछ भन्छन् । म मूल ढोकाबाट पस्या हुँ, मूलढोकाबाटै निस्कन्छु । म जस्केलोबाट निस्कन चाहत्र ।”

राजा वीरेन्द्रले ‘जस्केलो’को अर्थ बुझेनन् । अनि सहरका ‘ब्याकडोर’ गाउँघरतिर ‘जस्केलो’ भन्ने गरिन्छ भनी बुझाए । थापाले वीरेन्द्रबाट अविश्वास प्रस्ताव सामना गर्ने स्वीकृति पाए । 

उता राजाले राजीनामा दिनू भनी दिएको निर्देशन पालना नगरेकामा पञ्चहरू रिसाउन पुगे । अनि पञ्चहरू भन्न थाले, ‘राजाको हुकुम पनि नमान्ने ?’

२०४० असार २६ बजेट प्रस्तुत भयो, भोलिपल्टै ग्यालरी बैठकमा अध्यक्ष मरीचमान सिंहले रुलिङ गरे, “प्रधानमन्त्रीले आफ्नो पदको जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेको भन्ने प्रस्ताव, संविधान र राष्ट्रिय पञ्चायत नियमावलीअनुसार प्राप्त हुन आएकाले सो प्रस्ताव पेश गर्न प्रस्तावक लोकेन्द्रबहादुर चन्दलाई अनुमति दिन्छु ।”

जब अध्यक्षबाट प्रस्ताव राख्ने अनुमति पाए, तब चन्दले थापाविरुद्ध चर्कै आरोप लगाए । चन्दका आरोपका शब्दावली थिए, ‘पञ्च एकता असफल भएको र पञ्च–पञ्चका बीच बहुत ठूलो विभाजनको स्थिति देखापरेको हो । आज यो सदनमा मात्र होइन, मुलुकभरि गाउँ पञ्चायतहरूसम्म पनि पञ्च पञ्चहरूमा एउटा प्रस्ट विभाजन र झन् द्वेष भावनाको स्थिति देखापरेको छ । सदनले जुन विश्वास दिएको थियो, त्यो विश्वास फिर्ता लिएर उहाँले जिम्मेवारी पूरा नगरेको प्रस्ताव यहाँ प्रस्तुत गर्न हामी हामी वाध्य हुनुपरेको छ ।’ (राष्ट्रिय पञ्चायत (चौतीसौं अधिवेशन) कार्यबाहीको सम्पूर्ण विवरण, २०४०, पृष्ठ : १३७६–१३७९ ।)

चन्दका समर्थक राष्ट्रिय पञ्चायत सदस्य डा. प्रकाशचन्द्र लोहनी चाहिँ आक्रामक रूपमा प्रस्तुत भए । 

उनले ‘राजाको सक्रिय नेतृत्वमा शोषणरहित समाज’ गुनगान गाए । थापाको प्रधानमन्त्रीत्वकालमा प्रजातान्त्रिक अभ्यासका नाउँमा देशमा ‘ब्रम्हूलट’ भएको अनगन्ती वांक्याश प्रयोग गरे ।

अनि भाषणकै बीचमा प्रधानमन्त्रीबाट राजीनामा दिनू भन्ने राजाको हुकुम तामेल नभएको असन्तुष्टिस्वरूप डा. लोहनीले मुसाको कथा रोचक प्रस्तुत गरे ।

उनले केटाकेटीमा पढेको पञ्चतन्त्रमा एउटा श्लोक सुनाउँदै लामै व्याख्या गरे, थापालाई होच्याउँदै मुर्छित पार्ने शैलीमै । उनको त्यो लामो व्याख्या यहाँ उल्लेख गरी साध्य छैन । 

सारमा भन्दा कागले ठुँगेर सिध्दिन आँटेको मुसालाई ऋषिले दयामाया गरी उपचार गरे । डा. लोहनीकै व्याख्यामा, ‘मुनिले त्यो मुसालाई बिरालोको डर भयो भनी बिरालोमा परिणत गरिदिए । तथास्तु भनेर बरदान दिए । त्यो बिरालोलाई कुकुरको डर भएछ, तथास्तु भनी कुकुरमा परिणत गरिदिए । कुकुरलाई खाने पनि अर्काे जन्तु निस्कियो । तथास्तु, तथास्तु, तथास्तु, तथास्तु भनेर उदारताको एउटा महान सीप देखाएर त्यसलाई परिणत गर्दै लैजाँदा अन्तिम अवस्थामा मुनिले त्यसलाई एउटा सिंहमा परिणत गरिदियो ।’

उनले सामान्य पात्र सूर्यबहादुर थापालाई राजाले निगाह गरी प्रधानमन्त्री बनाएको, प्रधानमन्त्री बनेपछि व्यवस्था र राजालाई सिध्याउन लागेको संकेत गर्दै थिए ।

डा. लोहनीले थापाको अस्तित्वमै व्यंग्य गरे, ‘म सिंह भएर पनि मलाई मुसा भन्ने ? त्यो मुसाको बुद्धि बिग्रेर उसले के ठान्यो कि जसले मलाई सिंह बनाएको छ, त्यसलाई नै मैले खत्तम गरिदिएँ भने अनि सबैले मान्छ भन्ने यस किसिमको अपभ्रंस बुद्धिमा ऊ लाग्यो । वास्तवमा यो कथामा त्यो मुसाले त्यही मुनिलाई हमला गर्न जान्छ ।’

अनि ऋषिले मुसालाई ‘पुनर्मुषिको भवः’ गर्नुपरेको थियो । लोहनीले भने, ‘व्यवस्थाको नियम, परिधि व्यवस्थाको आदर्श, व्यवस्थाको आकांक्षा, व्यवस्थाको नेतृत्वको आकांक्षाविपरीत जाने जुनसुकै तत्वलाई पनि नियन्त्रण गर्छ । त्यसको साइजलाई ‘कट डाउन साइज’ भनिन्छ । अनि मुनि पूर्णमूषकः मूषकः त्यो फेरि मुसाको मुसा नै भए ।’

अर्थात् डा. लोहनीले थापालाई धनकुटाबाट काठमाडौं भित्रिएको एउटा ‘ढाक्रे’भन्दा माथिल्लो हैसियतका देखेनन् । उनले राजाको ‘निगाह’ मा मात्र पद मिलेको देखाउन खोज्ज्दै थिए । 

उता सूर्यबहादुर थापा ठान्दै थिए कि धनकुटाबाट निकट प्रतिद्वन्द्वीकै जमानत जफत गर्न सफल राजनीतिज्ञ । अनि आफैँले तन–मन–धन–बलका हुने/नहुने अस्त्र प्रयोग गरी जनमत संग्रहमा पञ्चायतलाई जिताएको घमण्ड पनि ।

थापाले आफूविरुद्ध लागेका अभियोग र आरोपकर्ताहरूलाई तह लगाउन कुनै कसर बाँकी राखेनन् । लामो भाषणपछि उनी ‘मुसो’मा आइपुगे । 

यहाँसम्म कि वास्तविक मुसा त डा. लोहनीहरू नै हुन् भन्ने तथ्य प्रस्तुत गर्न पुगे । “अब रह्यो भर्खरै मुसो र सिंहको कुरा पनि आयो,” थापाले भने, ‘‘व्यवस्था यति मजबूत भयो कि धेरैलाई सिंह बनायो । त्यहीकारण व्यवस्था खान भनी हिँडेकाहरू पनि फर्र्किए । व्यवस्था यति मजबूत थियो कि यिनीहरूलाई छूट दिइयो ।’’

हुन पनि २०३६–२०३७ को जनमत संग्रहका बेला डा. लोहनी बहुदलीय व्यवस्थाकै प्रचारमा जुटेका पात्र थिए । त्यही दृश्यलाई संकेत गर्दै लोहनीलाई घुमाउरो शैलीमा ‘मुसा’को संज्ञा थापाले दिए ।

‘‘ती मुसा हुन कि सिंह ?,’’ थापाले भने, ‘‘जनमत संग्रहको जब घोषणा भएको थियो, एकातिर बाहिर हाहाकार भएको ठाउँमा पञ्चायतलाई छाडेर जाने ? त्यो सिंह हो कि मुसा हो कि स्याल हो ? पञ्चायती व्यवस्थाले मलाई जे बनाएको होस्, मुसाकै रूपमा भए पनि म त्यही रूपमा जे बनाएको छ, व्यवस्थामा त्यसैरूपमा आज रहिरहेकै छु । सिंह र मुसाका रूप त हामीले देखिसकेका छौँ ।’’

थापाको बोलीमा डा. लोहनीले प्रतिवाद गर्न सकेनन् । इतिहास तथ्य–तर्कका अघिल्तिर लोहनीको केही जोर चलेन ।

डा. लोहनीले प्रस्तुत गरेको ‘मुसा’ मात्र नभएर त्यही अविश्वास प्रकरण वास्तविक रूपमै ‘मुसा प्रवृत्ति’को बिजारोपण समेत भएको थियो । किनभने थापाविरुद्ध अविश्वास प्रस्ताव अघि बढ्ने र सफल हुने देखेपछि मन्त्रीहरूको राजीनामा दिने लहर चल्यो । थापाको डुंगा छाड्दै चन्दको डुंगा चढ्ने होडबाजीमा पञ्चहरू उत्रिए ।

नवराज सुवेदी, जो थापाका दाहिने हात ठानिन्थे । उनी पञ्चायत तथा स्थानीय विकास मन्त्री थिए, मतदान हुनु अघिल्लो दिन थापाको डुंगा छाडे । यतिखेर राजतन्त्र फर्काउने अभियानका संयोजक बनेका तिनै नवराज सुवेदी हुन् ।

उतिबेला ‘थापा लाइन’का भएकै कारण तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रविरोधी कित्तामा थिए । यद्यपि सुवेदीले मन्त्री छाडे पनि दुवै कित्तामा उभिएनन् । अघिल्लो दिन मात्रै मुलुकको बजेट प्रस्तुत गरेका अर्थमन्त्री डा. यादवप्रसाद पन्तको राजीनामा आयो, प्रधानमन्त्रीसँग ‘नीतिगत मतभिन्नता’ देखाउँदै । 

अनि परराष्ट्रमन्त्री तथा जलस्रोत पद्मबहादुर खत्रीको पनि राजीनामा आयो । राज्यमन्त्रीहरू तेजेन्द्रबहादुर खड्का, राघवेन्द्रप्रताप शाह, केशरबहादुर विष्ट, अनि सहायकमन्त्रीहरूको राजीनामा आयो ।

सबभन्दा पहिला त राज्यमन्त्री दीपक बोहराबाट राजीनामाको लहर सुरु भएको थियो । ती मन्त्रीहरू कसैले नीतिगत मतभिन्नता, कसैले राष्ट्र, राजमुकुट र निर्दलीय पञ्चायत व्यवस्थाको बहृत् हित निम्ति, कसैले पञ्च एकता कायम गर्न पदमा रहनु उपर्युक्त नभएको तर्क दिए, राजीनामा पत्रमा ।

तर, थापाले आफूलाई छाड्नेहरूलाई सिधै मुसा संज्ञा चाहिँ दिएनन् । तर, उनले मुसा प्रवृत्तिबाट धोका चाहिँ पाए । 

थापाले राजपरिवारका सदस्य, भारदार, शक्तिकेन्द्रका षडयन्त्र नबुझ्ने कुरै भएन । किनभने मन्त्रीहरू रुँदै थापाकहाँ पुगेका थिए, शक्तिकेन्द्रबाट राजीनामा निम्ति दबाब परेको ब्यथा सुनाउँदै । 

थापाले सदनमै भने, “मेरा ‘कलिग’ (राथी) हरूले राजीनामा गर्नुभयो । तर, म भाग्न निश्चय नै चाहन्न । म चाहँदा पनि चाहन्न ।”

मुसासँगै छिरेका भारदार

अनि थापाले सदनमै आफूविरुद्ध ‘भारदारी जाल’ भएको संकेत गर्न पनि बाँकी राखेनन् । उनले ‘भारदार’का तागत बुझेका थिए, भारदारले मुलुक खेलाएको इतिहास बुझेका पनि थिए । इतिहासमा धेरै भारदारले पदमात्र होइन, राजकाजमा रहँदै ज्यान गुमाएको तथ्य नबुझ्ने पनि सवालै रहेन ।

उनले सदनमै भने, “नेपालमा, यो खासगरी काठमाडौंमा भारदार भन्ने एउटा चलन थियो । जसले नेपालमा हर कुरामा प्रवासी बन्ने कि यहाँ भारदार बन्ने हुन्थ्यो । यहाँ पनि नयाँ भारदारहरूको जन्म भएको छ । ती भारदारहरू निश्चय ती विभिन्न रूपबाट, विभिन्न ठाउँबाट, समाजका विभिन्न अंगबाट जम्मा भएका छन् । यिनीहरूले निश्चय नै प्रभाव पारेका छन् ।”

तर, ‘भारदार’ शब्दमाथि तत्कालै डा. लोहनीले नियमापत्ति प्रकट गरे । उनका आपत्तिका शब्द थिए, ‘‘यो समाजका विभिन्न भारदारहरू जम्मा भएका छन्, जम्मा भइसकेका छन् भनी कसलाई भन्नुभएको हो । भारदारहरू पहिलेको समयमा राजनीतिमा संलग्न हुने व्यक्तिलाई भारदार भनिन्थ्यो ।’’

लोहनीले प्रश्न बर्साए, ‘‘उहाँले के यो राष्ट्रिय सदनलाई भारदार भन्न खोज्नु भएको हो कि ? नभए उहाँले कसलाई भारदार भन्न खोज्नु भएको हो ? अथवा कस्ता किसिमका भारदार भन्न खोज्नुभएको हो ? यसरी इंगित गरेर जहाँ–तहीँ ख्याल–ख्याल जुनसुकै ठाउँमा पनि पुग्न सक्ने किसिमले प्रधानमन्त्रीज्यूले बोल्दाखेरी अलि विचार गर्नुपर्‍यो ।”

थापाले जवाफ फर्काए, ‘‘कुनै जरुरी छैन, भारदार राजनीतिमा नै लागेको हुनुपर्छ भन्ने ।’’

अझ रापंस पद्मसुन्दर लावतीलाई पनि भारदार शब्द व्यंग्यात्मक र अश्लिल लाग्यो । 

उनले भने, ‘‘त्यस्तो किसिमको अश्लिल या व्यंग्यात्मक शब्द कसैलाई पनि हामीले प्रयोग गर्न पाउँदैन भन्ने नियमावलीमा व्यवस्था छ, त्योअनुसार भारदार भन्ने शब्दको यहाँ प्रयोग गर्नुभयो । त्यो भारदार शब्द उहाँले नै आफूलाई भारदार खडा गरेर भएको हो या उहाँले नै भारदार भन्ने नयाँ दिनुभएको छ कि ? के भन्नुभएको हो ? यो कुरा प्रस्ट भएन ।’’

लावतीलाई पनि थापाले जवाफ फर्काए, ‘‘अब यो भारदार भन्ने शब्द नै यहाँ प्रयोग गर्नु हुँदैन, यो अश्लिलमा गनिन्छ भनेदेखि त निश्चय नै अध्यक्षले त्यो मान्नुहुन्छ भनेदेखि मलाई पनि त्यसमा केही भन्नुछैन । अन्यथा, मलाई त्यस्तो लाग्दैन । आज सूर्यबहादुर अथवा कुनै बहादुर कहीँ केही नभएको हुनाले स्वविवेकीय प्रयोग गर्न आग्रह गर्छु । म विदा लिन चाहन्छु ।”

जब अविश्वास प्रस्ताव मतदान भयो, तब दुई वर्षअघि सर्वसम्मत् निर्वाचित थापाले जम्माजम्मी १७ मत पाए । उनको विपक्षमा एक सय ८ मत पर्‍यो । एक सय ४० सदस्यीय राष्ट्रिय पञ्चायतमा एक सय २५ रापंस मात्रै मतदानमा सहभागी भए । 

अनि दुई दिनपछि राष्ट्रिय पञ्चायतबाट सर्वसम्मत् रूपमा लोकेन्द्रबहादुर चन्द सिफारिस हुँदै प्रधानमन्त्री नियुक्त भए । अनि थापा मन्त्रिपरिषद्का केही सदस्यलाई दोहोरिने अवसर मिल्यो । 

दरबारको चाहनाविपरीत उभिनेहरू सूर्यबहादुरका ‘सत्र भाइ’का संज्ञाले परिचित रहे, पञ्चायतकालभरि ।

त्यो कालमा अविश्वास प्रस्ताव शब्द प्रयोगमा आएन । धेरैले ‘महाभियोग प्रस्ताव’ शब्दावली प्रयोग गरे । तर संविधानमा ‘प्रस्ताव’ मात्र उल्लेख थियो । पञ्चायती संविधानमा भएको तेस्रो संशोधनसँगै प्रधानमन्त्री बन्न र हटाउन राष्ट्रिय पञ्चायतका साठी प्रतिशत मत चाहिन्थ्यो ।

अनि तिनै षडयन्त्रकारी ‘भारदार’हरूलाई पछि थापाले ‘गैर–संवैधानिक केन्द्र’ हुँदै ‘भूमिगत गिरोह’ दर्जा दिए । पञ्चायतको उत्तरार्द्धताका ‘भूमिगत गिरोह’ शब्दावली बहुचर्चित थियो ।
सूर्यबहादुर थापासँग भेट हुँदा यो पंक्तिकारले ‘भूमिगत गिरोह’का सदस्य गिरोहको नाम खुलाउन आग्रह गरेको थियो । तर, उनले नाम चाहिँ लिन चाहेनन् ।

उनले भनेका थिए, “तपाईंले बुझेको, तपाईंले नाम लिएकै पात्रहरू हुन् । योजनाकारहरू त बेग्लै हुन्थे । बाहिर जे–जति विरोध हुन्थ्यो, त्यो देखिने पात्र मात्र हुन् । तिनीहरू दरबारस“ग सम्बन्धित मानिस नै थिए । तर तिनीहरू दृश्यमा आउ“दैनथिए, कहिले पनि । उनीहरू शासन ‘म्यानुपुलेट’ गर्थे । मैले तिनकै गतिविधि मूल्यांकन गरी भूमिगत गिरोह भनेको हु“ ।”

अनि चन्द पनि मुसाबाट प्रताडित

अनि सूर्यबहादुर थापालाई २०४० सत्ताबाट बाहिरिएपछि कुर्सीमा फर्कन बहुदल कुर्नुपर्‍यो । अर्थात् उनले लोकेन्द्रबहादुर चन्दसँग पञ्चायतकालीन बदला लिन १४ वर्ष दुई महिना कुर्नुपर्‍यो । उनलाई बदला लिन पनि बहुदल चाहियो ।

२०५४ असोज १८ मा तिनै डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणालाई सभ्य भाषामा भन्नुपर्दा ‘सारथी’ असभ्य भाषामा ‘मुसा’ बनाउँदै चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न सफल भए, सूर्यबहादुर थापा ।

त्यो ‘मुसा प्रकरण’मा कमल थापाहरू थपिए, फरक यत्ति हो । दुई दिनपछि थापा प्रधानमन्त्री नियुक्त भए, नेपाली कांग्रेसको साथ पाएपछि । 

अनि चन्दले साहित्यिक शैलीमा ‘जहाजमा परेको प्वाल’ मुसाहरूको कथा सुनाए, आफ्नै पार्टीका साथीहरूले धोका दिएपछि ।

उनले संसद्मा अविश्वास प्रस्तावकहरुलाई जवाफ फर्काउँदा भावुक हुँदै भनेका थिए, ‘‘जहाज डुब्ने बेला मुसाहरू सबभन्दा पहिला हाम फाल्छन्, ती मुसाहरूले अर्काे हाज चढ्ने मौका पाए भने त्यसमा पनि प्वाल पारी पानी पसाउँछन् र जहाज डुबाउँछन् ।’’

उनको ‘जहाज प्वाल’ पार्ने ‘मुसा प्रवृत्ति’ नेपाली समाजमा स्थापित हुन पुग्यो । 

पञ्चायतकालीन ‘मुसा प्रवृत्ति’ बहुदलीय व्यवस्थासँगै विस्मृति पुगेको थियो । अनि २०५४ असोज १८ का ‘मुसा प्रवृत्ति’ चाहिँ शासकीय समाजमा स्थापित हुन पुग्यो । अनि धेरैले ‘मुसा प्रवृत्ति’को जन्म त्यही दिन ठान्न पुगे ।
त्यसो त, लोकेन्द्रबहादुर चन्दलाई पनि कांग्रेसका दुई सांसदले ‘जहाजमा प्वाल’ पारेपछि सत्ता मिलेको थियो । 

२०५३ फागुनमा आफ्नै पार्टीका दुई सांसदले जहाजमा प्वाल पारी फरार भएपछि शेरबहादुर देउवाको सत्ता ढलेको थियो । दुई सांसद ‘फरार पारिएपछि’ चन्दलाई सत्ता मिलेको हो । अनि साथ दिएको थियो, नेकपा एमालेले ।

अनि नेपाली राजनीतिमा ‘दल बदलु’लाई ‘मुसा’को संज्ञा दिने क्रम निरन्तर छ । 

सत्ता प्राप्तिका निम्ति हाम्रा राजनीतिकर्मीहरू जतिसुकै खेर राजनीतिक डुंगा बदल्न सक्छन्, बदलिइरहेका छन् । कसैले गुट बदल्छन्, त कसैले दलै । अब मन्त्री या कुर्सी नपाउँदा बखत मात्र होइन कि चुनावका टिकट नपाउँदा पनि रातारात दल बदलिरहेका हुन्छन् । कुर्सीकै निम्ति पार्टी विभाजन गर्ने रोग देखिएकै हो ।

यस्ता दृश्य लोकतन्त्रकालमा झन् बाक्लिएको छ । अघिल्लो दिनसम्म एकै थलोमा रहेर रणनीति बुन्दै गरेकाहरु भोलिपल्ट अर्काे पार्टीबाट टिकट लिएका उदाहरण सामान्य बन्दैछ ।

यहाँसम्म कि ‘वार–पार’कै सिद्धान्त बदलेका दृश्य सामान्य हुँदै छ । दल–बदलु र गुट बदलु त अपराधका दुनियाँमा ‘ग्याङ’ बदले सरह हुँदै गएको छ ।  अनि कुर्सी–टिकटकै निम्ति कतिले विद्धता–विशेषज्ञतालाई पनि बलि दिएकै छन् । कुनै समय ‘सेलीब्र्रेटी विज्ञ’ मानिनेहरु दल–बदलसँगै खिइँदै गएका पनि छन् ।

झन् ०८४ मा कस्तो होला, दल–बदलु मुसाहरूले जहाज प्वालको दृश्य ? केवल कुर्सी मात्र धेय रहेपछि, आदर्श–सिद्धान्तको राजनीति सकिएपछि भाऊ बढ्ने तिनै ‘मुसा’हरूको हो । 

अनि दलीय नेतृत्वले बुझ्नैपर्छ, मुसाको काम जहाजमा रहेका चिजबिज सकेपछि पार्टीरुपी जहाज प्वाल पार्ने नै हुन् । तिनलाई काखमा राखी आनन्द मानिरहँदा सूर्यबहादुर, लोकेन्द्रबहादुर र शेरबहादुरले झैँ धोका पाउनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्