काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् ।
वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भएको भेटमा इजरायली प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको बताएका हुन् ।
भेटमा पुरस्कार समितिलाई पठाइएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै नेतन्याहूले ट्रम्पले एकपछि अर्को क्षेत्रमा शान्ति स्थापनाका लागि पहल गरिरहेका कारण मनोनयन गरेका बताएका छन् ।
यसअघि, राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको स्वागत गर्दै गाजामा युद्ध समाप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले २१ महिनादेखि चलिरहेको द्वन्द्व समाप्त गर्न हमास तयार भएको बताएका थिए । उनले भने, “उनीहरू भेटेर युद्धविराम गर्न चाहन्छन् ।”
यो भेट कतारमा इजरायल र हमासबीच चलिरहेको अप्रत्यक्ष युद्धविराम वार्ता निष्कर्षविहीन भएपछि भएको हो । यद्यपि, यो हप्ता पनि वार्ता जारी रहने अपेक्षा गरिएको छ । बीबीसी