site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२५ अर्बमा तल्लो सेती आयोजना बन्दै, ईआईए स्वीकृतको चरणमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले १२६ मेगावाटको तल्लो सेती अर्धजलासय (पीआरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । 

२५ अर्ब रुपैयाँ (२२ करोड ७० लाख अमेरिकी  डलर) अनुमानित लागत रहेको तल्लो सेती आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिको चरणमा पुगेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण प्रभाव अध्ययन शाखाले सर्वसाधारणबाट सुझाव मागेको छ । 

सुझाव प्राप्त भएपछि ईआईए स्वीकृत हुनेछ । तल्लो सेतीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । एसियाली विकास बैंक (एडीबी)को ३५ लाख डलर अनुदान सहयोगमा डीपीआर तयार भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोजनामा एडीबीसँगै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले लगानी गर्नेछन् । एडीबी र जाईकाको ऋण सहयोगमा १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण भइरहेको छ । 

अहिलेसम्म आयोजना बनाउन वित्तीय व्यवस्थापन हुन बाँकी छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा तल्लो सेती आयोजना अघि बढाउने उल्लेख गरेको छ । 

आयोजना तनहुँको दमौलीभन्दा २४ किलोमिटर तल सेती नदीमा निर्माण हुनेछ । आयोजनाको बाँधको उचाइ ३२ मिटर छ । १२.७ किलोमिटर लामो जलासय र सुरुङको लम्बाइ ६.७५ किलोमिटर लामो हुने तनहुँ हाइड्रोपावरले जनाएको छ ।

तनहुँ जलविद्युत्को टेलरेसबाट निस्किएको पानीमा मादी नदीको पानी थप हुने भएको छ । 

आयोजनाको हेडवक्र्स बेरेज, हेडरेस टनेल, पेनस्टकलगायत सबै संरचनाहरू सेती नदीको दायाँबायाँ र बन्दीपुरको सारगंघाट आसपासमा राख्ने प्रस्ताव गरिएको छ । 

हेडवक्र्स तनहुँको बन्दीपुर गाउँपालिकाको सारगंघाट क्षेत्रमा छ भने यसको अर्ध भूमिगत विद्युतगृह तनहुँकै देवघाट गाउँपालिका ४ काफलडाँडामा छ ।
आयोजनाका लागि आवश्यक रहेका कार्यालय भवन, कामदार शिविर, क्रसर प्लान्ट, उत्खननस्थल, उपकरणस्थलसमेत, अन्य भौतिक संरचनाहरू हेडरेस, सर्ज साफ्ट, टनेल, पेनस्टक, अडिट र विद्युतगृह संरचना तनहुँमा परेको छ ।

आयोजनाले तनहुँको बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका, व्यास नगरपालिका, देवघाट गाउँपाकिला, आबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका २९ पनि प्रभावित क्षेत्रमा पर्छ ।
 
पीआरओआर आयोजनाबाट वार्षिक ५२ करोड ४२ लाख ४ हजार युनिट बिजुली उत्पादन हुने डीपीआरले देखाएको छ । आयोजनामा तीनवटा टबाईन जडान हुने भएका छन् । आयोजनाको डिजाइन डिस्चार्ज २०६.९० घनमिटर प्रतिसेकेन्ड रहेको छ । प्रस्तावित आयोजनाले तनहुँ र चितवनको गरी कुल २७१.७६ हेक्टर क्षेत्रफल जमिन ओगटेको छ । राष्ट्रिय वन क्षेत्र १६१.४६ हेक्टर र निजी जग्गा ११०.३० हेक्टर प्रयोग हुनेछ । 

आयोजनाबाट उत्पादन हुने बिजुली तनहुँ आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारणलाइनमा जोडेर राष्ट्रिय  प्रणालीमा समाहित गरिने भएको छ । आयोजनाले दुई किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्नेछ ।

तनहुँ हाइड्रोपावरले १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ हाइड्रोपावरको काम ६५ प्रतिशत सकिएको छ । आयोजना आगामी एक वर्षमा सक्ने कार्यतालिका छ । अझै ३५ प्रतिशत काम बाँकी रहेकाले आयोजनाको समय थप हुन सम्भावना छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्