
काठमाडौं । भारतबाट ब्रिटेनका लागि उडेको जहाज उड्नासाथ दुर्घटनामा परेको छ ।
एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।
विमानभित्र रहेका यात्रुको संख्याका बारेमा भारतीय मिडियामा फरक फरक संख्या उल्लेख गरिएको भए पनि अहिलेसम्म एयर इन्डियाले केही नबताएको समाचारहरुमा जनाइएको छ । अधिकांश मिडियाले विमानमा २४२ जना सवार रहेको जनाएका छन् । जसमा दुई जना पाइलट, १० जना क्याबिन क्रु र २३० जना यात्रु रहेको जनाइएको छ ।
एयर इन्डियाको एआई–१७१ उडान (बोइङ ७८७–८ ड्रिमलाइनर) अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा टेक–अफ लिनासाथ दुर्घटनामा परेको थियो ।
अपराह्न १ बजेर ३८ मिनेटमा विमानले उडान भर्न सुरु गरेको समाचारमा जनाइएको छ । प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार विमानमा तीनवटा विस्फोटनको आवाज आएको थियो । हताहतीको आशंका गरिएको भए पनि यकिन विवरणहरु भने प्राप्त भएका छैनन् । उक्त विमान अहमदावादबाट लण्डनका लागि उड्दै गरेको थियो ।
बीबीसीका अनुसार दुर्घटनास्थलमा अहिले फायर ब्रिगेडका गाडीहरु पुगिरहेका छन् । अहमदाबाद विमानस्थल टर्मिनल एकका एक म्यानेजरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ– विमानस्थल वरिपरि पुरै धुँवा देखिएको छ ।”
सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका तस्बिरमा पनि दुर्घटना भएको स्थल वरिपरि धुवाँ भरिएको देख्न सकिने समाचारमा उल्लेख गरिएको छ ।