-1749637755.jpg)
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
जेठ २० गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् ।
सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । बुधबार पनि पटकपटक दलका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । सचेतकहरूको बैठकले सहमति जुटाउन नसकेपछि गगन थापा, वर्षमान पुनलगायतका नेताहरू पनि छलफलमा जुटेका थिए । तर पनि सहमति हुन सकेन ।
सहमति नजुटेपछि बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले सदन सञ्चालनका लागि पटकपटक आग्रह गरे पनि विपक्षी दलहरूले मानेनन् । उनले आफू दलीय आधारमा बोल्न दिन तयार रहेको तर सबै सांसद बस्नुपर्ने बताएका थिए ।
तर, सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका थिए । उनीहरू उभिएलगत्तै सत्तापक्षका केही सांसदले आपत्ति जनाएका थिए । त्यसैले बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भयो ।
आजको बैठक कार्यसूचीमा प्रवेश गर्छ कि गर्दैन भन्ने निश्चित छैन । बुधबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले गृहमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए । धेरै भए छानबिनका लागि समितिसम्म बन्ने तर लेखकले राजीनामा कुनै पनि हालतमा नदिने प्रष्ट पारेका थिए ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।