site stats
बाह्रखरी :: Baahrakhari
खेल
रेन्जर्सको मुख्य प्रशिक्षकमा मार्टिन

काठमाडौं । स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सले प्रिमियर लिग क्लब साउथह्याम्टन एफसीका पूर्वप्रशिक्षक रसेल मार्टिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

बिहीबार रेन्जर्सले क्लब र मार्टिनबीच तीन वर्षको निम्ति सम्झौता भएको जनाएको हो । 

Argakhachi Cement Island Ad

स्कट्ल्यान्डको राष्ट्रिय टोलीबाट १९ पटकसम्म खेलिसकेका मार्टिन रेन्जर्सका पूर्वखेलाडी समेत हुन् । उनी सन् २०१७–२०१८ को सिजनमा नर्विच सिटीबाट रेन्जर्समा लोनमा अनुबन्धित भएका थिए । उनले रेन्जर्सबाट १७ खेल खेलेका थिए । 

प्रिमियर लिग क्लब साउथह्याम्पटनले टोलीको खराब प्रदर्शनका कारण उनलाई २०२३–२०२४ को सिजनको सात खेलअगावै जिम्मेवारीबाट बर्खास्त गरेको थियो । उनको नेतृत्वमा साउथह्याम्पटन १६ खेल खेल्दा १३ खेलमा पराजित भएको थियो । 

मार्टिनले पुनः फर्कन पाउँदा आफू टोलीलाई सफलता दिलाउन केन्द्रित रहेको बताएका छन् । 

“म यहाँ आएदेखि मैले यो क्लब, क्लबको उपेक्षा, समर्पण र इतिहासको स्वाद चाखिसकेको छु । अहिले प्रशिक्षकको रूपमा टोलीमा फर्कन पाउँदा टोलीलाई सफलता दिलाउने कुरामा केन्द्रित छु । म समर्थक, खेलाडी र क्लबका हरेकको उपाधि जित्ने चाहना पुरा गर्ने कुरामा केन्द्रित छु,” रेन्जर्सको विज्ञप्तिमा उल्लेख भनिएको छ, “टोलीमा गर्नुपर्ने कामहरू धेरै छन् । तर, हाम्रो उदेश्य भनेको खेल जित्ने, ट्रफी जित्ने र रेन्जर्सका समर्थकहरूलाई गर्व हुने नतिजा दिने हो ।” 

यसअघि उनले सन् २०२३–२०२४ मा साउथह्याम्पटन, सन् २०२१–२०२३ मा स्वान्सी सिटी र सन् २०१९–२०२१ को सिजनमा मिल्टन किनेस डोन्सको जिम्मेवारी सम्हालेका थिए । 

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्