site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार-यातायात व्यवसायीबीच दोस्रो चरणको वार्ता सुरु

काठमाडौं । सिंहदरबारमा यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ ।
 
सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुनः दोस्रो चरणको वार्ता सुरु भएको हो ।
 
“अहिले दोस्रो चरणको वार्ता सुरु भएको छ । राइड सेयरिङलाई वैधानिकता दिने गण्डकी सरकारले बनाएको कानुन खारेज नभएसम्म सहमति गर्दैनौँ । बिहानको बैठक निष्कर्षविहीन सकिएको थियो । अब के हुन्छ हेरौँ,” उनले भने । 

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी कानुन ल्याएको छ । 

Argakhachi Cement Island Ad

सोही कानुन खारेज हुनुपर्ने भन्दै सार्वजनिक यातायात व्यवसायीले छोटो तथा लामो दूरीका सवारी बन्द गरेका छन् । 

सोमबार बिहान बसेको बैठकले यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरेको थियो । आन्दोलनरत व्यवसायीसँग गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारका तर्फबाट कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक छन् । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्यसचिव छन् ।

त्यसैगरी, आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठजना कार्यदलमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्