site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानबिन समिति चाहियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।

उनले जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महसुस गरेर सदनमा बजेट प्रस्तुत गर्न दिएको जिकिर गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरूमा आफूहरू अडिग रहेको बताए । 

Argakhachi Cement Island Ad

उनले आफूहरूको मुद्दालाई सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने जिकिर गरे । प्रमुख सचेतक परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउने समेत उल्लेख गरे । 

“हिजो हामीले संवैधानिक दायित्व महसुस गरेर जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा बजेट प्रस्तुत गर्न दियौँ । अन्य कुरामा रास्वपा लगायतका अन्य प्रतिपक्षी दलहरू आन्दोलनमा छौँ । हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुपर्‍यो । अनि मात्रै सदन अगाडि जान्छ । अरू कामहरू हुन्छ । हामीलाई पछिल्लोसमय केही नयाँ सूचनाहरू, घटनासँग सम्बन्धित कुराहरू आएका छन् । त्यो कुराहरू पनि हामी सदनमा जानकारी गराउँछौँ । हाम्रो आन्दोलन जारी राख्छौँ । राजीनामा, जवाफ चाहियो, छानबिन समिति बन्नुपर्‍यो,” उनले भने  । 

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै उनको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्