site stats
बाह्रखरी :: Baahrakhari
देश
साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार निर्माण

काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउँदै साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । 

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साइबर जोखिम न्यूनीकरण गर्न त्रैमासिकरूपमा एड्भाइजरी जारी गर्ने बताए । 

उनले देशभर फोरजी सेवालाई सञ्चालन गर्ने र काठमाडौंसहित ठूला सहरमा फाइभजी सेवा सुरु गरिने जानकारी दिए । त्यस्तै काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गर्ने, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने उनले बताए । 

Argakhachi Cement Island Ad

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए । 

मन्त्री पौडेलले शिक्षा मन्त्रालयका लागि दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको जानकारी दिए । उनले विद्यालय शिक्षाको सुधारका लागि आवश्यक योजना ल्याइने र शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने उल्लेख गरे । 

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने र कुनै पनि शिक्षकको अभाव हुन नदिने उनले बताए । 

अर्थमन्त्री पौडेलले स्वास्थ बिमाका लागि आगामी आर्थिक वर्षका लागि १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए । ‘निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रम’को घोषणा गर्दै उनले हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने बताए । 

स्वास्थ्य मन्त्रालयका लागि सरकारले ९५ अर्ब ८१ करोड बजेट बिनियोजन गरिएको उनले बताए । 

पौडेलले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्