
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले अब भावनाले मात्र नभएर सत्य र इमानदारीका साथ नेपालको आगामी दिशाबारे संवाद गर्नुपर्ने समय आएको बताएकी छिन् । लामो समयदेखि हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएकी उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
नेपालले पुनः संसारको एक मात्र शान्तिपूर्ण हिन्दू अधिराज्यको रूपमा आफ्नो पहिचान पुनर्स्थापना गर्नुपर्ने उनले उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, “जहाँ शासन बल वा कट्टरताले होइन, आध्यात्मिक मूल्य, सांस्कृतिक निरन्तरता, र राष्ट्रिय एकताले निर्देशित हुन्छ ।”
संवैधानिक राजतन्त्र, राजनीतिक दलभन्दा माथि हुने र राष्ट्रिय एकताको प्रतीकका रूपमा रहने उनको ठम्याइ छ । उनले लेखेकी छिन्, “दलहरू प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन्, र सरकार बनाउँछन् । तर राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ ।”
यो विभाजनको कुरा नभएर राष्ट्रिय पुनर्जागरणको आह्वान भएको उनको भनाइ छ ।