
काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको व्यावसायिक अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सले आफ्नो नौ स्टारसिप परीक्षण उडानले नियन्त्रण गुमाएको रोयटर समाचार एजेन्सीले जनाएको छ ।
यो मानवविहीन रकेट अमेरिकाको टेक्सासबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको ३० मिनेटपछि नियन्त्रणबाहिर गएको अलजजिराले बताएको छ ।
यो विशाल रकेट बुधबार पूर्वनिर्धारित योजनाभन्दा चाँडो वायुमण्डलमा प्रवेश गरेको थियो । रकेटमा इन्धन चुहावट भएपछि अन्तरिक्षमा अनियन्त्रित घुम्ने समस्या उत्पन्न भएको थियो । स्पेसएक्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै स्टारसिपले ‘र्यापिड अनसेड्युल्ड डिसएसेम्ली’ भनेको छ, जसको अर्थ यो टुक्रा–टुक्रै भएको हो ।
कम्पनीले भनेको छ, “यस्तो परीक्षणबाट कुरा सिक्ने र सफलता प्राप्त हुने हुन्छ । आजको परीक्षणले स्टारसिपको विश्वसनीयता बढाउन मद्दत गर्दछ किनभने स्पेसएक्सले बहुग्रहीय जीवनको लक्ष्य राखेको छ ।”
रिपोर्टअनुसार, नियन्त्रण गुमाउनुअघि ४०३ फिट (१२३ मिटर) उचाइको यो रकेट अघिल्ला परीक्षण उडानहरूको विफलताको विन्दुभन्दा पनि अगाडि उडेको थियो ।
यो नयाँ परीक्षण प्रक्षेपण मार्च ६ मा स्पेसएक्स स्टारसिप प्रक्षेपणपछि नै विस्फोट भएको घटनापछि भएको हो ।
असफल उडानको भग्नावशेष फ्लोरिडाको केही क्षेत्रमा खसेपछि अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसनले धेरै उडान डाइभर्ट गरेको थियो र मियामी अन्तर्राष्ट्रिय विमानस्थलसहित फ्लोरिडाका चार विमानस्थलमा अल्पकालीन उडान रोकिएको थियो ।
मस्कले स्टारसिपको विकासमा अर्बौं डलर खर्च गरिसकेका छन् । दक्षिण अफ्रिकामा जन्मिएका यी अर्बपतिले यो परियोजना मंगल ग्रहमा मानव बस्ती बसाल्ने आफ्नो व्यवसायिक अन्तरिक्ष कम्पनीको योजनाको अंश भएको बताएका छन् ।
स्पेसएक्सले अमेरिकी सरकारी संस्था नासासँग मिलेर ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक मानिसलाई चन्द्रमामा पठाउने पनि काम गरिरहेको छ ।
स्टारसिपको ठूलो आकार र बारम्बार विफलताका कारण, स्पेसएक्सको परीक्षण उडानहरूले अमेरिकाको दक्षिणी राज्यहरू र क्यारिबियन क्षेत्रमा धेरैपटक भग्नावशेष खसालिसकेको छ ।