site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धविरामका निम्ति हमास सहमत,  अमेरिका–इजरायलले मानेनन्

काठमाडौं । गाजामा युद्धविराम गर्ने अमेरिकाको प्रस्तावलाई हमासले स्वीकार गरेको छ । तर, एक अमेरिकी अधिकारीले हमासले स्वीकार गरेको भनेको प्रस्ताव अमेरिकाको आधिकारिक प्रस्ताव नभएको बताएका छन् ।

उनले उक्त सम्झौता प्रस्तावलाई ‘अस्वीकार्य र निराशाजनक’ बताएको अल जजिराले जनाएको छ ।

यी विरोधाभास खबरका बीच इजरायली सेनाले गाजामा भोकमरी झेलिरहेका प्यालेस्टिनीमाथि निरन्तर बमबारी जारी राखेको छ । इजरायलको घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा मानवीय सहयोग पुग्न नसकेको बताइएको छ ।

Argakhachi Cement Island Ad

चिकित्सा स्रोतहरूका अनुसार सोमबारमात्रै इजरायली आक्रमणमा धेरै बच्चासहित कम्तीमा ८१ जना मारिएका छन् ।

अल जजिराका स्रोतले बताएअनुसार हमास र अमेरिकाको पश्चिम एसिया दूत स्टिभ विटकफले कतारको राजधानी दोहामा भएको बैठकमा अमेरिकी सम्झौता प्रस्तावको मस्यौदामा सहमति जनाएका छन् । स्रोतहरूका अनुसार सोे प्रस्तावमा ६० दिने युद्धविराम र गाजामा राखिएका १० जीवित बन्दीहरूलाई दुई चरणमा छाड्ने सहमति समावेश छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताका सर्तहरू र इजरायली सेनाको गाजाबाट फिर्तीको ग्यारेन्टी दिनेछन् । यो सम्झौताले पहिलो दिनदेखि नै बिनासर्त मानवीय सहयोग प्रवेश गर्न अनुमति दिनेछ ।

तर, विटकफले हमासले स्वीकार गरेको प्रस्ताव आफ्नो नभएको बताए । 

अल जजिराकी वासिङ्टन डीसी संवाददाता किम्बर्ली हाल्केटका अनुसार अमेरिकाले टेबलमा राखेको प्रस्ताव इजरायलसँगको अस्थायी युद्धविराम सम्झौतामात्र हो । “यसले आधा जीवित बन्दीहरू र आधा मृतकहरू फिर्ता गर्न सहयोग गर्छ,” उनले भनिन् ।

“यसको बदलामा यसले कूटनीतिक वार्ताको बाटो खोल्दै स्थायी युद्धविराममा पुग्न सकिने अमेरिकाको धारणा छ । यही सम्झौता हो, जुन स्रोतले अल जजिरालाई हमासले स्विकार्नुपर्छ भनेका छन्,” उनले अगाडि भनिन् ।

हमासका तर्फबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै गाजामा बाँकी रहेका ५८ इजरायली बन्दीमध्ये २०  जना जीवितलाई फिर्ता ल्याउने प्रतिज्ञा गरेका छन् ।

“आज हामीले यसलाई हासिल गर्न सकेनौँ भने भोलि गर्नेछौँ र भोलि नभए पर्सि गर्नेछौँ । तर हामी हार मान्दैनौँ,” नेतान्याहूले भने ।

“हामी ती सबैलाई फिर्ता ल्याउने लक्ष्य राख्छौँ, जीवित र मृतक दुवैलाई,” उनले थपे । इजरायली नेताले प्रस्तावित सम्झौताको विषय भने कुनै उल्लेख गरेनन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्