
काठमाडौं । प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले चलचित्र ‘ऊनको स्वीटर’ हेरेर प्रतिक्रिया जनाएका छन् ।
नेपाल भ्रमणका क्रममा चलचित्र ‘ऊनको स्वीटर’ हेरेर उनले यो सिनेमा नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुति भएको बताए ।
“म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु । मैले भर्खरै हेरेको चलचित्र ऊनको स्वीटरले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ,” एरिक भ्यालीले भने, “मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ । तर, यसमा त्यो पाइनँ ।” यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र भएको उनले बताएको ‘ऊनको स्वीटर’ निर्माण पक्षले प्रेस नोटमा उल्लेख गरेको छ ।
छायांकनदेखि कलाकारको अभिनयसम्मको उनले तारिफ गरेका छन् । नेपाली सिनेमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको उनले बताएका छन् ।
नवीन चौहानको निर्देशन रहेको ‘ऊनको स्वीटर’ व्यापारिक रूपमा सफल चलचित्र हो । चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर र सुनील पोखरेलजलगायत कलाकारको अभिनय रहेको छ ।
एरिक भ्यालीको चर्चित चलचित्र ‘क्याराभान’ (१९९९)ले नेपालको डोल्पा क्षेत्रको जीवनशैली, संघर्ष र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेको थियो । उक्त चलचित्रले ओस्करको ७२औँ संस्करणमा समेत मनोनयन प्राप्त गरेको थियो ।