site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘वान रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन सम्पन्न

काठमाडौं । विश्वभर एकसाथ मनाइने ‘वान रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन सम्पन्न भएको छ । शुक्रबार ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनमै पुगेर सम्पन्न भएको हो । 

विश्वकै ठूलो अन्तर्राष्ट्रिय हाफ म्याराथन मे २४ मा नेपालसँगै विश्वका ११० सहरमा एकसाथ आयोजना भएको हो । नेपालमा यस दौड काठमाडौं म्याराथनका आयोजक एन.आर.एस स्पोट्र्स फाउन्डेसनद्वारा गत वर्षदेखि आयोजना गरिएको हो । यस दौडमा बालबालिकादेखि ज्येष्ठ नागरिकसहित सबै उमेरका धावकहरूलाई सहभागी हुने मौका प्रदान गरेको थियो । 

हाफ म्याराथनमा १० किमी, पाँच किमी र एक किमी दौडको विधाहरू समावेश गरिएको थियो । हाफ म्याराथनको रुट ललितपुरको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू हुँदै पार भएको थियो । हाफ म्याराथन पाटन दरबार क्षेत्रबाट सुरु भएर मंगलबजार हुँदै पुल्चोक, जावलाखेल, एकान्तकुना, सातदोबाटो हुँदै बल्खु, कलंकी, सीतापाइला हुँदै पुनः कृष्ण मन्दिरमै गएर अन्त्य भएको थियो । 

Argakhachi Cement Island Ad

नेपालसहित बहराइन, बंगलादेश, बेलारुस, ब्राजिल, कतार, चीन, इजिप्ट, भारत, जोर्डन, कीर्गिस्तान, मलेसिया, पाकिस्तान, साउदी अरेयिबा, सर्बिया, ताजिकिस्तान, चिली, लेबनान, अर्मेनिया, ट्युनिसिया, भेनेजुएला लगायतका देशहरूमा ४० हजारभन्दा धेरै धावकहरू एकसाथ दौडिएको जनाइएको छ । 

नेपालमा भने एक हजारभन्दा धेरै धावकको सहभागिता थियो । दौडको नतिजा हाफ म्याराथनको पुरुषतर्फ आर्मीका शुशीलकुमार शाही प्रथम भए । यस्तै, आर्मीकै विनोद रोकाय दोस्रो र नरेन्द्रसिंह रावत तेस्रो भए । 

महिलातर्फ यो विधामा आर्मीकै निशा सार्की प्रथम भइन् । यस्तै, आर्मीकै विश्व रुपा र गीता महर्जन क्रमशः दोस्रो र तेस्रो भए । हाफ म्याराथन मास्र्टस पुरुषतर्फ किरणसिंह बोगठी रजवार प्रथम, धर्म महर्जन दोस्रो र मिजुकी मातसुजाकी तेस्रो भए । 

१० किमी खुला पुरुषतर्फ सन्जय श्रेष्ठ प्रथम, राजमी बस्नेत दोस्रो र अजुर्न बुढा तेस्रो भए । यी तीनै खेलाडी विभागीय टोली आर्मीमा आवद्ध छन् । यो विधाको महिलातर्फ सन्तोषी श्रेष्ठ पहिलो, पूर्णलक्ष्मी न्यौपाने दोस्रो र सिर्जना पाण्डे तेस्रो भइन् । 

१० किमी मास्र्टस पुरुषतर्फ मनिन महर्जन पहिलो, देव महर्जन दोस्रो र राजेश महर्जन तेस्रो भए । पाँच किमी खुला पुरुषतर्फ एपीएफका रुपेश कार्की पहिलो, आर्मीका गणेश रावत दोस्रो र आर्मीकै अखुलबहादुर पाल तेस्रो भए । पाँच किमी खुला महिलातर्फ एपीएफकी आशा रावत पहिलो, आर्मीकी सरस्वती भट्टराई दोस्रो र रजिना दुलाल तेस्रो भए । पाँच किमी स्कुल पुरुषतर्फ अजय पाण्डे पहिलो, दिनेश यादव दोस्रो र हरिचन्द्र तामाङ तेस्रो भए । पाँच किमी स्कुल महिलातर्फ अस्मिता भुजेल प्रथम, गायत्री श्रेष्ठ दोस्रो र सांग्रिला श्रेष्ठ तेस्रो भए । 

हाफ म्याराथनमा ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्रचार्यसँगै अन्य पदाधिकारीहरूको उपस्थिति थियो । दौडमा ब्लुक्रस हस्पिटल मेडिकल पार्टनरको रूपमा रहँदा सिंगापुर बेभरेज नेपाल (निम्बु पानी)को पनि साथ रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्