
काठमाडौं । भारतको उड्डयन सुरक्षा नियामक, नागरिक उड्डयन सुरक्षा ब्युरो (बीसीएएस)ले बिहीबार टर्कीको विमानस्थल ग्राउन्ड ह्यान्डलिङ कम्पनी चेलेबी एयरपोर्ट सर्भिसेज इन्डियाको सुरक्षा लाइसेन्स रद्द गरेको छ ।
चेलेबी एयरपोर्ट सर्भिसेज इन्डियाले भने यो टर्कीको संस्था नभएर भारतीय व्यवसायीको संस्था भएको जनाएको छ । चेलेबीले विगत १५ वर्षदेखि भारतका नौवटा विमानस्थलमार्फत भारतीय उड्डयन क्षेत्रमा सेवा दिँदै आएको छ ।
चेलेबी एयरपोर्ट सर्भिसेज इन्डियाले विज्ञप्तिमा भनेको छ,“यो वास्तवमा भारतीय व्यवसायीद्वारा नेतृत्व र व्यवस्थापन गरिएको एक भारतीय व्यवसाय हो, र कुनै पनि हिसाबले यो टर्कीको संस्था होइन ।”
टर्कीले पाकिस्तानमा भारतको हवाई हमलाको निन्दा गरेको थियो । उसले पाकिस्तानलाई समर्थन गरेको सन्दर्भमा भारतले यस्तो कदम चालेको हो ।
यस विषयमा नागरिक उड्डयनमन्त्री के रामामोहन नायडूले भने, “हाम्रा लागि आफ्नो राष्ट्रिय हित र सार्वजनिक सुरक्षा सबैभन्दा माथि छन् र यसमा कुनै सम्झौता हुन सक्दैन ।”
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले एक आदेशमा भनेको छ, “राष्ट्रिय सुरक्षाको हितमा, चेलेबी एयरपोर्ट सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडको सम्बन्धमा सुरक्षा लाइसेन्स तत्कालका लागि रद्द गरिएको छ ।”
यसैबीच, दिल्ली विमानस्थल सञ्चालक (डायल)ले विज्ञप्ति जारी गर्दै भनेको छ, “इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ र कार्गो सञ्चालनको जिम्मेवारी पाएको चेलेबीसँगको सम्बन्ध आधिकारिक रूपमा अन्त्य गरिएको छ ।
दिल्ली विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ र कार्गो टर्मिनल सञ्चालन ‘चेलेबी एयरपोर्ट सर्भिसेज इन्डिया प्रालि र चेलेबी दिल्ली कार्गो टर्मिनल म्यानेजमेन्ट इन्डिया प्रालिले गर्दै आएका थिए ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि आक्रमण भएको थियो । जसमा २६ जनाको मृत्यु भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।
मे ७ मा भारतले पाकिस्तानभित्र हवाई आक्रमण गर्दा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पाकिस्तानको पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए । त्यसपछि पाकिस्तानबाट भएको जवाफी कारबाहीमा ठूलो मात्रामा टर्कीका ड्रोनहरू प्रयोग गरिएको भारतले दाबी गर्दै आएको छ ।
मे ९ मा भारतको विदेश मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा कर्नेल सोफिया कुरेशीले भनेकी थिइन्, “ड्रोनको भग्नावशेषको फरेन्सिक अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानले यी टर्किस एसिगार्ड सोंगरर ड्रोनहरू भएको देखाउँछ ।”बीबीसी