
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन् । शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताए ।
उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको बताए ।
भारतको लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाइ छ ।
प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ । कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीनरूपमा समाधान गरिने तर यसका लागि केही समय लाग्ने बताए ।
उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा दुई हजार मेगावाट माग रहको जानकारी दिए । प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समयसमयमा बिजुली जाने गरेको उनको भनाइ छ ।