
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरे ।
"अब तलमाथि नभइकन दुई–चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ," उनले भने ।
उनले सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको बताए ।
"गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफङ भयो । त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ," उनले भने ।