
काठमाडौं । नेपाल प्रहरीमा जनशक्तिको कमी रहेको गुनासो बेला–बेलामा आइरहन्छ । तर, भएको पूरै जनशक्ति भने जनताको जिउधनको सुरक्षा र समाजमा शान्तिसुरक्षा कायम गर्नमा प्रयोग भएको छैन ।
देशको शान्ति सुरक्षासहित भीआईपी तथा भीभीआईपीको सुरक्षा पनि नेपाल प्रहरीको जिम्मेवारीमा पर्छ । तर, प्रहरीको काम यतिमै सीमित हुँदैन । भीआईपीले प्रहरी जनशक्तिलाई सवारी चालकदेखि घरको चुलौ–चौकोसम्ममा दुरुपयोग गरिरहेका छन् । प्रहरी नियमावली विपरीत कतिपय प्रहरी जनशक्ति वर्षौंसम्म एकै जनाको सुरक्षामा खटिएको र उनीहरुले आफू सुरक्षामा बसेका परिवारको सबै सेवा गर्ने गरेको तथ्य पनि बाहिर आएको छ ।
नियमअनुसार प्रहरीले राज्यले आवश्यक ठानेको व्यक्तिको सुरक्षाका लागि प्रहरी जनशक्ति खटाउने हो । तर, कैयौं प्रहरी भीआईपीको सवारी चालकका रुपमा पनि कार्यरत छन् । बाह्रखरीले प्राप्त गरेको विवरणअनुसार राष्ट्रपतिदेखि प्रधानमन्त्री अनि मन्त्री, पूर्वसांसद तथा राज्यका विभिन्न उच्च ओहोदामा बसेकाहरुले सुरक्षामात्र हैन, चालक पनि नेपाल प्रहरीकै जनशक्ति नै प्रयोग गरिरहेका छन् ।
गृह स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली आदिको सवारी चालकका रुपमा प्रहरीलाई नै खटाइएको छ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालसम्मले प्रहरी नै चालकको रुपमा प्रयोग गरेको भेटिएको छ । पूर्व गृहमन्त्री जनार्दन शर्माले समेत सवारी चालकको रुपमा प्रहरीको प्रयोग गरिरहेका छन् ।
चालकहरु भीआईपीका लागि खटाइएकाले प्रहरीमा चालकको अभाव रहेको र कतिपय अवस्थामा भाडाका चालक प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रहरी प्रधान कार्यालय स्रोतको गुनासो छ ।
पदमा बहाल हुँदा वा भूतपूर्व भएपछि भीआईपीलाई प्रहरीले सुरक्षा दिनुपर्ने हुन्छ । उनीहरुले पाउने चालक सुविधा भने सरकारले निजामतिबाट दिनुपर्ने व्यवस्था छ । तर, भीआईपीले भने चालकको रुपमा प्रहरीलाई नै रोज्ने गरेको पाइन्छ ।
जुनसुकै बेला घरको काम लगाउन पाइने तथा बच्चा स्कुल पुर्याउनेदेखि नातागोतालाई घुमाउन पनि भीआईपीले प्रहरीका चालक रोज्ने गरेको स्रोत बताउँछ ।
निजामति चालक लिँदा बिहान १० देखि बेलुका ५ बजे सम्ममात्र काम गर्ने भएका कारण शक्तिको दुरुपयोग गर्दै भीआईपीले प्रहरी चालक लिने गरेको बताइन्छ ।
भीआईपीको सवारी चलाउँदा नियमित तलबबाहेक अतिरिक्त भत्ता पाइने अनि पहुँच पनि बढी हुने भएका कारण प्रहरीहरु भीआईपीको चालक हुन लोभिने गरेका छन् । त्यसकै कारण वर्षौंसम्म उनीहरु भीआईपीको सवारी चलाएर बस्ने गरेका छन् ।
कुन भीआईपीका कति प्रहरी चालक ?
गृह मन्त्रालयबाट बाह्रखरीलाई प्राप्त विवरणअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ४ जना प्रहरी सवारी चालक खटाइएको छ । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनको सवारी चालकका रुपमा ५ जना प्रहरी खटिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सवारी चलाउनका लागि ७ जना प्रहरी खटिएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवका लागि पनि एकजना प्रहरी सवारी चालकका रुपमा खटिएका छन् ।
त्यसैगरी प्रधान न्यायाधीश गोपाल पराजुलीको पनि सवारी चालक प्रहरी नै छन् । मन्त्री तथा राज्यमन्त्रीहरुले पनि चालक प्रहरी नै प्रयोग गर्दै आएका छन् । मुख्य सचिव लोकदर्शन रेग्मीका लागि पनि तीनजना प्रहरी सवारी चालक खटाइएको छ ।
विना विभागीय मन्त्री तथा माओवादी नेता जनार्दन शर्माका लागि तीनजना चालक छन्, सबै प्रहरी । माओवादीकै अर्का नेता तथा बिना विभागीय मन्त्री प्रभु शाह, राप्रपाका मन्त्री जयन्त चन्द, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायर, उपप्रधानमन्त्री कमल थापा, मन्त्री सञ्जय गौतमलगायतले पनि प्रहरी नै सवारी चालकको रुपमा प्रयोग गर्दै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका लागि ३ जना प्रहरी चालकका रुपमा खटाइएको छ । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ३ जना प्रहरी नै चालक राखेका छन् ।
एमाले अध्यक्ष केपी ओलीका लागि दुईजना प्रहरी चालक खटाइएको छ भने पूर्वसभामुख सुवास नेम्वाङले पनि प्रहरी नै चालक प्रयोग गर्दै आएका छन् । पूर्वसभामुख ओनसरी घर्तीलाई दुईजना, पूर्व प्रधानन्याधीश सुशीला कार्कीलाई एकजना, लोकसेवा आयोगकी सदस्य बिन्दा हाडालाई एकजना र पूर्वसचिव गोविन्द कुसुमलाई एकजना प्रहरी सवारी चालक खटाइएको छ ।
कांग्रेसका पूर्वसांसद रामहरि खतिवडाले समेत प्रहरी चालक प्रयोग गर्दै आएका छन् भने पूर्व महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालका लागि पनि प्रहरीका चालक नै खटाइएको छ ।
गृहका अधिकृतलाई पनि प्रहरी चालक
नेपाल प्रहरीलाई चलाउने जिम्मेवार निकाय गृह मन्त्रालयले पनि प्रहरी जनशक्तिको दुरुपयोग गर्दै प्रहरी सवारी चालक प्रयोग गरिरहेको पाइएको छ । त्यसो त गृह मन्त्रालयकै निर्देशनमा नेपाल प्रहरीले भीआईपीका लागि सवारी चालक खटाउने हो ।
गृह मन्त्रालयका अधिकृतले समेत सवारी चालक सुविधा पाउँछन् । गृहका १२ अधिकृतका लागि प्रहरी सवारी चालक खटाइएको छ । “प्रहरीका कतिपय एसएसपीले समेत चालक सुविधा पाएका हुँदैनन् तर गृह मन्त्रालयका शाखा अधिकृतले प्रहरी चालक पाएका छन्,” गृहका एक अधिकृत भन्छन्, “प्रहरी चलाउने नै गृहले हो, भनेपछि मान्नैपर्यो । प्रहरीमा चालकको कमी छ, भएका चालकको दुरुपयोग भएको छ ।”