
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । बिहीबार (वैशाख २५) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
उनले आफू मन्त्री बनेको १० महिना भएको उल्लेख गरे । १० महिनाको समय धेरै नरहेको उनले बताए ।
उनले विगतमा १० महिनामा सरकार परिवर्तन भएका स्मरण गरे । वर्तमान सरकार १० महिनामै नफेरिने उनले बताए । यस्ता १० महिना तीन/चार अरू पनि कट्ने उनको भनाइ थियो ।
“म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि, १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन कि पहिलापहिला १०/१० महिनामा सरकार फेरिन्थ्यो,” उनले भने, “त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकालजस्तो लाग्थ्यो । यसपालि दशै महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन/चारवटा अरू व्यहोर्छौं । त्यसो भएको हुनाले १० महिना धेरै भएन ।”
गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका विषयमा कानुनलाई पूर्णता दिइएको बताए । नौ महिनायताको समयमा आफूहरूले कानुनलाई पूर्णता दिएको उनले जानकारी गराए । न्युज एजेन्सी नेपाल